दुवै मिर्गौला फेल भएपछि २२ वर्षीया यसोदाको जीवन अस्पतालको शय्यामा, रुँदै आमाले मागिन् सहयोग


काठमाडौ । उमेर जम्मा २२ वर्ष। यो उमेरमा धेरै युवायुवती आफ्ना सपना पूरा गर्ने, भविष्य बनाउने र परिवारको सहारा बन्ने कल्पनामा हुन्छन्। तर डोटीकी यसोदा नेपालीको जीवन भने विगत तीन वर्षदेखि अस्पतालको शय्यामा बितिरहेको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको जीवन अहिले गम्भीर संकटमा परेको छ।

डोटीको जोरायल गाउँपालिका–३, राउतकट्टे स्थायी घर भएकी यसोदा विगत तीन वर्षदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित छिन्। उनको दुबै मृगौलाले काम गर्न छोडेको करिब तीन वर्ष पुग्न लाग्यो । हाल उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नियमित डायलायसिस गराइरहेकी छन्।

रोगले थलिएकी छोरीको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएपछि परिवार थप चिन्तित बनेको छ। पछिल्लो समय उनको दाहिने हातसमेत थप सुन्निएको छ। हात सुन्निएपछी काठमाडौमा उपचारका लागि आएकी उनलाई अस्पतालले थप डेढदेखि दुई लाख रुपैयाँ खर्च लाग्ने बताएपछि परिवार झन् ठूलो आर्थिक संकटमा परेको छ।

यसोदाकी आमा सीता कुमारी दमाई छोरीको उपचारका लागि सहयोगको अपिल गरिरहेकी छन्। छोरीको पीडा सुनाउँदा आमाका आँखा आँसुले भरिन्छन्। श्रीमान् गुमाइसकेकी सीताका लागि छोराछोरी हुर्काउनु र परिवार सम्हाल्नु आफैँमा ठूलो संघर्ष थियो। अहिले त्यही परिवारको आशा बनेकी छोरी जीवन र मृत्युसँग संघर्ष गरिरहेकी छन्।

आँसु झार्दै सीता भन्छिन्, “श्रीमान्को मृत्यु पहिल्यै भयो। छोराछोरी सानै थिए। जसोतसो दुःख गरेर हुर्काउँदै थिएँ। अहिले छोरीको अवस्था यस्तो भयो। अब कसरी बचाउने भन्ने चिन्ताले सताएको छ।”

परिवारमा नियमित आम्दानी गर्ने कोही छैनन्। छोरीको उपचारका लागि भएको थोरै सम्पत्तिसमेत खर्च भइसकेको छ। आफूसँग भएको सबै सकिँदासमेत छोरीको उपचार पूरा गर्न नसक्दा आमा सीता असहाय बनेकी छन्।

एकातिर छोरीको असह्य पीडा, अर्कोतिर उपचार खर्च जुटाउन नसक्ने बाध्यता। एउटी आमाका लागि योभन्दा ठूलो पीडा के हुन सक्छ र? छोरीलाई बचाउने आशा बोकेर सहयोगी मनहरू खोजिरहेकी सीताको याचना अहिले सबैको सहयोग र सहानुभूतिको अपेक्षामा छ।

यसोदाको जीवन बचाउन अहिले आर्थिक सहयोगको आवश्यकता छ। सानो सहयोगले पनि उनको उपचारमा ठूलो राहत पुग्न सक्छ। त्यसैले सहयोगी मन भएका व्यक्ति, संघसंस्था, समाजसेवी तथा देशविदेशमा रहनुभएका नेपालीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन परिवारले हार्दिक अपिल गरेको छ।

सहयोगको लागि इच्छुकले बिरामी यसोदाकी आमालाई ९८४८९९०९१० सम्पर्क गर्न सकिनेछ ।