बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते


काभ्रे, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने बाँकी पाँच जनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।