राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा


काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको शाहीले बताएका हुन् ।

वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । तर, उनले उम्मेदवारीबारे औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि अध्यक्षका आकांक्षीका रूपमा देखिएका छन् । पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थनमा पाण्डेले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

महाधिवेशनलाई लक्षित गर्दै थापा, लोहनी र पाण्डेले जिल्ला भ्रमणसमेत सुरु गरिसकेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा शाही पनि सहभागी भएका थिए ।

गत निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुने राप्रपाका एक मात्र उम्मेदवार शाही हुन् ।

राप्रपाको वर्तमान विधानअनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल केन्द्रीय पदाधिकारीका रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ । पार्टीमा अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्रीलगायत पदाधिकारी रहने व्यवस्था छ । शाही हाल पार्टी प्रवक्ता छन् ।