अमेरिकी राष्ट्रपतिहरूले आफ्ना प्रतिद्वन्द्वी देशका नेताहरूसँग भेटघाट गर्नु अस्वाभाविक होइन । तर डोनाल्ड ट्रम्पको मामिलामा भने एउटा अनौठो पक्ष देखिन्छ । उनी अमेरिकाका प्रतिद्वन्द्वी देशका ‘निरङ्कुश’ शासकहरूलाई पनि मित्रका रूपमा व्यवहार गर्छन् ।
बिहीबार दक्षिणी चीनको सान्चेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने उनको महत्त्वपूर्ण शिखर बैठकमा पनि यो प्रवृत्ति दोहोरिन सक्ने देखिन्छ । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि भेटेर निरङ्कुश शासकहरूसँगको सम्बन्धलाई थप विस्तार गर्ने आशा गरेका छन् ।
सान्चेनमा हुने त्रिपक्षीय वार्ताको प्रतीकात्मक अर्थ निकै महत्त्वपूर्ण छ । विश्वका तीन ठूला शक्ति राष्ट्रका नेताहरू एकै ठाउँमा भेला हुँदैछन् । यी तीनै देशले आफ्नो वरपरको भौगोलिक क्षेत्रमा प्रभाव र प्रभुत्व कायम राख्न खोजिरहेका छन् । उनीहरूको यो जमघटले साना तथा कमजोर राष्ट्रहरूलाई बाहिर राखेर शक्ति प्रदर्शन गर्ने सन्देश दिन सक्छ ।
यदि ट्रम्पले स्वतन्त्र विश्वको नेताका रूपमा क्रूर शासकहरूको सामना गरिरहेका हुन्थे भने यो भेटघाटको दृश्य फरक हुने थियो । तर उनी अमेरिकाका सहयोगी राष्ट्रहरूप्रति उपेक्षापूर्ण व्यवहार गर्छन् भने सी र पुटिनको कठोर शासन शैलीको प्रशंसा गर्छन् । उनीहरूका गतिविधिको बचाउ गर्ने वा उनीहरूलाई असन्तुष्ट नबनाउने प्रयास पनि गरिरहेका हुन्छन् ।
एसिया भ्रमणमा निस्कनुअघि ट्रम्पले युक्रेनका सर्वसाधारणमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेका पुटिनले संयमता अपनाएको टिप्पणी गरेका थिए । पुटिनले अझ कठोर कदम चाल्न सक्ने उनको भनाइ थियो ।
त्यस्तै, उन्नत सेमिकन्डक्टर चिप्ससँग सम्बन्धित जासुसी प्रकरणबारे चीनसँग कडा कुरा नगर्नुको कारण पनि उनले चीन भ्रमणअघि उसलाई अपमानित गर्न नचाहेको बताएका थिए ।
अमेरिकाका शत्रुहरूसँग संवाद गर्नु र उनीहरूलाई अनुचित रूपमा सहुलियत दिनुबीच निकै साँघुरो सीमा हुन्छ । सान्चेनको शिखर बैठकले महाशक्तिबीचको तनाव कम गर्न उपयोगी कूटनीति अपनाइँदै छ वा दुई निरङ्कुश शासक र त्यस्तै बन्न चाहने अमेरिकी राष्ट्रपतिबीच शक्ति प्रदर्शन भइरहेको छ भन्ने प्रश्न उठाउनेछ ।
आलोचकहरू ट्रम्पले ठोस उपलब्धिभन्दा तडकभडक र औपचारिकतालाई बढी महत्त्व दिने गरेको आरोप लगाउँछन् । चतुर कूटनीतिक वार्ताकारहरूले गर्ने प्रशंसामा उनी रमाउने गरेको उनीहरूको भनाइ छ । आफ्नो पहिलो कार्यकालमा सी, पुटिन र किमसँग गरेका शिखर बैठकहरू हेर्दा आकर्षक देखिए पनि तिनबाट खासै उपलब्धि हासिल हुन सकेन ।
सान्चेन बैठकबाट पनि कुनै ठुलो उपलब्धि हासिल हुने अपेक्षा गरिएको छैन । ट्रम्पले नेताहरूबिच आणविक हतियार, इरान र युक्रेनका विषयमा छलफल हुन सक्ने बताएका छन् । तर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले शीतयुद्धका बेला अन्तिम सोभियत नेता मिखाइल गोर्बाचोभसँग शिखर बैठक गर्नुअघि जस्तो विस्तृत तयारी र सहयोगी राष्ट्रहरूसँगको गहन परामर्शमा ट्रम्पको खासै धैर्य देखिँदैन ।
चीनका लागि अमेरिकाका पूर्वराजदूत निकोलस बन्र्सले मंगलबार सीएनएनसँग कुरा गर्दै पुटिन र सीसँगको बैठक अमेरिकी राष्ट्रिय हितमा छ कि छैन भन्ने प्रश्न उठाएका छन् ।
उनले भने, ‘यसको प्रतीकात्मक अर्थलाई हेर्नुहोस् । राष्ट्रपति ट्रम्पले भ्लादिमिर पुटिनलाई पुनः अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुने अवसर दिइरहेका छन् । युक्रेनमाथिको आक्रमणका कारण झन्डै पाँच वर्षदेखि पुटिन अन्तर्राष्ट्रिय स्तरमा आलोचित हुँदै आएका छन् ।’
बन्र्सले थपे, ‘ट्रम्पले सी जिनपिङको अत्यधिक प्रशंसा गरिरहेका छन् । जबकि सी अमेरिकाका प्रतिद्वन्द्वी हुन् । अमेरिकाले उनीबारे व्यक्त गर्नुपर्ने धारणाभन्दा यो ठीक उल्टो हो ।’
आणविक हतियारको भण्डारबाहेक अन्य अधिकांश मापदण्डमा रुस अमेरिका र चीनभन्दा कमजोर शक्ति हो । तर ट्रम्पले पुटिनलाई असाधारण महत्त्व दिइरहेका छन् । हालै रुसबाट डिजेल खरिद गर्ने प्रतिबन्ध छल्ने प्रकृतिको सम्झौता तथा आगामी डिसेम्बरमा मियामीस्थित आफ्नो गल्फ रिसोर्टमा हुने जी–२० शिखर सम्मेलनमा पुटिनलाई निमन्त्रणा गर्नु यसका उदाहरण हुन् ।
तर सान्चेनमा पुटिनजस्तै ट्रम्प पनि व्यक्तिगत राजनीतिक प्रतिष्ठा स्थापित गर्न चाहन्छन् । मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठुलो पराजय बेहोरेपछि उनी आफू कमजोर र प्रभावहीन राष्ट्रपति नभएको सन्देश विश्व समुदाय तथा अमेरिकी जनतालाई दिन चाहन्छन् ।
बैठकको आयोजकका रूपमा सीले चिनियाँ सरकारी सञ्चारमाध्यममा आफ्नो देशको प्रभावशाली छवि प्रस्तुत गर्ने अवसर पाउनेछन् । दुई अन्य महाशक्तिका नेतालाई एकै ठाउँमा बोलाउने प्रभावशाली नेताका रूपमा आफूलाई प्रस्तुत गर्न उनी चाहन्छन् ।
शिखर बैठकका जोखिमप्रति ट्रम्प बेखबर ?
यो बैठकका जोखिम स्पष्ट छन् । युक्रेन, युरोपेली राष्ट्रहरू तथा मध्यपूर्वका देशहरूलाई सी, ट्रम्प र पुटिनबीच हुने सहमतिले आफ्ना हितलाई प्रभावित पार्न सक्ने चिन्ता छ ।
तर विश्वका सबैभन्दा प्रभावशाली आणविक शक्ति राष्ट्रका नेताहरूबिच नियमित भेटघाट र संवादको माध्यम कायम रहनु पनि आवश्यक हुन सक्छ ।
विश्वको अवस्था स्थिर छैन । युक्रेन, इरान र ताइवानजस्ता संवेदनशील क्षेत्रका विवादमा यी तीनै नेताको प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ जोडिएको छ । यस्ता विवादले ठुलो अन्तर्राष्ट्रिय द्वन्द्व निम्त्याउन सक्छन् । प्रभावकारी शिखर बैठकले यी तनाव कम गर्न वा अन्तरिक्षमा समेत फैलिन सक्ने आणविक हतियारको प्रतिस्पर्धा रोक्न सहयोग पुर्याउन सक्छ ।
ट्रम्पले आफ्ना शत्रु राष्ट्रका नेताहरूसँग भेट्न तयार हुनु नै उनीहरूसमक्ष झुक्नु हो भन्ने आलोचना पनि सधैँ उचित नहुन सक्छ । शत्रुसँग संवाद गर्नु कमजोरी नभई शक्तिको संकेत पनि हुन सक्छ ।
अमेरिका र सोभियत संघबीच तनाव चुलिएको समयमा आफ्नो उद्घाटन सम्बोधनमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, ‘शिष्टता कमजोरीको संकेत होइन र इमानदारी सधैँ प्रमाणित हुन सक्ने विषय हो । हामीले कहिल्यै डरका कारण वार्ता नगरौँ, तर वार्ता गर्न पनि कहिल्यै नडराऔँ ।’
त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा बुधबार राति ट्रम्प, पुटिन र सी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको स्वागत समारोहमा सहभागी भएका थिए ।
अमेरिकी नौसेनाका अवकाशप्राप्त एडमिरल तथा नेटोका पूर्व सर्वोच्च सहयोगी कमान्डर जेम्स स्टाभ्रिडिसले उनीहरूको भेटलाई सकारात्मक रूपमा व्याख्या गरेका छन् ।
उनी भन्छन्, ‘अहिले हामी क्षेप्यास्त्र प्रहार भइरहेको अवस्थामा छैनौँ । चीनसँग युद्धमा पनि छैनौँ । राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पबीच वास्तविक आत्मीयता देखिन्छ । तस्बिरहरूमा हेर्दा पुटिन भने केही अलग्गिएको जस्तो देखिन्छन्, जुन उनको अहिलेको अवस्थाका लागि उचित पनि हो ।’
अमेरिकाका शत्रु राष्ट्रहरूसँग संवादको ढोका खोल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति होइनन् । पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो चुनावी प्रतिबद्धताअनुसार इरान र क्युबासँग सम्बन्ध सुधारका प्रयास गरेका थिए । सन् २००८ को राष्ट्रपतीय प्राथमिक निर्वाचनमा उनका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले भने त्यसको आलोचना गरेकी थिइन् । पछि ट्रम्पले कडा नीतिमार्फत ओबामाले अघि बढाएका दुवै प्रयास उल्ट्याएका थिए ।
अमेरिकी विदेश नीतिमा संयम अपनाउनुपर्ने पक्षमा रहेको थिंक ट्यांक डिफेन्स प्रायोरिटिजका एसिया कार्यक्रम निर्देशक लाइएल गोल्डस्टिनले ट्रम्पका शिखर बैठकहरूमा तडकभडक बढी र उपलब्धि कम हुने आलोचनालाई स्वीकार गरेका छन् ।
ब्राउन विश्वविद्यालयको चाइना इनिसिएटिभको नेतृत्वसमेत गरिरहेका गोल्डस्टिनले भने, ‘म शिखर बैठक, भेटघाट र संवादको पक्षमा छु ।’ उनका अनुसार ट्रम्प र सीबीचको सम्बन्ध वास्तविक रूपमा सौहार्दपूर्ण देखिन्छ । व्यक्तिगत सम्बन्ध र आपसी समझदारीले कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
विशेषगरी दक्षिण चीन सागरमा दुई देशका नौसैनिकबीच अचानक तनाव उत्पन्न भएको अवस्थामा यस्तो व्यक्तिगत सम्बन्धले ठुलो द्वन्द्व रोक्न सहयोग गर्न सक्छ । ट्रम्पले चीनमै उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि भेट्ने इच्छा व्यक्त गरेका छन् । उनको पहिलो कार्यकालमा किमसँगको मित्रतापूर्ण सम्बन्धले दुई देशबीचको तनाव कम गर्न सहयोग गरेको तर्क गरिन्छ । तर उनीहरूबीच भएका भेटघाटले उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न सकेनन् । अहिले उत्तर कोरियासँग पहिलेभन्दा धेरै आणविक हतियार र क्षेप्यास्त्र रहेको बताइन्छ ।
गोल्डस्टिनका अनुसार त्रिपक्षीय शिखर बैठकको ढाँचालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन सके यसले नियमित प्रगति र संवादका लागि उपयोगी आधार तयार गर्न सक्छ ।
कमजोर बनेका ट्रम्पलाई चीनले कसरी हेरिरहेको छ ?
ट्रम्प र सीबीचको भेट अमेरिका–चीन सम्बन्धमा विभिन्न विवाद र कूटनीतिक चासो बढिरहेको समयमा हुँदैछ । अमेरिकी गुप्तचर निकायले सम्भावित चिनियाँ सम्पर्क व्यक्ति हुन सक्ने ठानेको एक अधिकारीसँग एनभिडियाका पूर्वप्रमुख कार्यकारीको सम्बन्धबारे सार्वजनिक भएका विवरणलाई ट्रम्पले खासै महत्त्व दिएका छैनन् ।
यो प्रकरणले अमेरिका र चीनबीच एआई क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला अमेरिकी प्रविधि क्षेत्रमा चीनले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको विषयलाई पुनः चर्चामा ल्याएको छ । एआईको विकासले दुवै देशको सैन्य क्षमतामा समेत ठुलो प्रभाव पार्ने देखिन्छ ।
ट्रम्पको पहिलो कार्यकालका उपराष्ट्रपति माइक पेन्सले मंगलबार चीनसँगको वार्तामा ट्रम्पले कडा अडान लिनुपर्ने बताएका थिए । सान्चेन बैठकको अर्को महत्त्वपूर्ण पक्ष पनि छ, जसबारे ट्रम्पले खासै सोच्न नचाहन सक्छन् । राजनीतिक क्रान्ति, गम्भीर बिरामी वा मृत्युजस्ता असाधारण परिस्थिति नआएसम्म सी र पुटिन अझै धेरै वर्ष सत्तामा रहन सक्छन् । तर ट्रम्प भने लोकतान्त्रिक व्यवस्थामा राष्ट्रपति बनेका छन्, जहाँ मतदाताले उनलाई हालै मध्यावधि निर्वाचनमार्फत ठुलो राजनीतिक अस्वीकृति दिएका छन् । निरङ्कुश शासकहरूले भने यस्तो जनमतको सामना गर्नुपर्दैन ।
शक्ति र राजनीतिक स्थायित्वको यो असमानताले नीतिगत असर पार्न सक्छ । चीनले सन् २०२९ मा नयाँ अमेरिकी राष्ट्रपति आएपछि फेरि अमेरिकी नीति परिवर्तन हुन सक्ने अनुमान गर्दै दीर्घकालीन रणनीतिलाई निरन्तरता दिन सक्छ । त्यस्तै, पुटिनले ट्रम्प राष्ट्रपति रहँदा युक्रेन युद्धबारे अन्य कुनै अमेरिकी राष्ट्रपतिको तुलनामा आफूले अनुकूल सम्झौता गर्न सक्ने आकलन गर्न सक्छन् ।
शिखर बैठकका आयोजक सीले ट्रम्पको राजनीतिक कमजोरीलाई आफ्नो कूटनीतिक हितमा प्रयोग गर्ने प्रयास गर्न सक्ने विश्लेषकहरूको भनाइ छ । लन्डनस्थित एसओएएस चाइना इन्स्टिच्युटका निर्देशक स्टिभ साङले सीएनएनसँग कुरा गर्दै भने, ‘चिनियाँहरूले डोनाल्ड ट्रम्प अहिले उल्लेख्य रूपमा कमजोर भएको देखिरहेका छन् । पहिलो, मध्यावधि निर्वाचनको परिणामले उनलाई कमजोर बनाएको छ । दोस्रो, पछिल्ला दिनमा प्रविधिसम्बन्धी विषयमा भएका विवादले पनि उनको अवस्था थप कमजोर बनाएको छ ।’
उनका अनुसार ट्रम्पले चीनमाथि दबाब सिर्जना गर्न खोजेमा यसले चिनियाँ नेतृत्वलाई अझ आत्मविश्वासी बनाउन सक्छ । तर साङका अनुसार सीले ट्रम्पप्रति व्यक्तिगत रूपमा जे धारणा राखे पनि उनीसँगको राम्रो सम्बन्ध कायम राख्न चाहेकाले सार्वजनिक रूपमा असभ्य व्यवहार गर्ने सम्भावना कम छ ।
स्टेफन कोलिन्सन सिएनएनबाट




प्रतिक्रिया