पोखराको लेकसाइडमा मध्यराति ग्याङफाइट


पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यराति झै–झगडा तथा कुटपिटमा संलग्न पाँच जना पक्राउ परेका छन्। कास्की प्रहरीले मंसिर २ गते राति भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार राति करिब साढे १२ बजे लेकसाइडको स्ट्रिट नम्बर १६ मा केही व्यक्तिबीच झगडा र कुटपिट भइरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले झै–झगडामा संलग्न व्यक्तिहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए।

त्यसपछि प्रहरीले पाँचै जनालाई पक्राउ गरेको बैदाम प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथेका ३० वर्षीय नीरज शर्मा, २८ वर्षीय विराज अधिकारी, २५ वर्षीय टुकबहादुर गुरुङ र २२ वर्षीय मनोज पुन रहेका छन्। यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–४ का २३ वर्षीय सन्दीप थापा पनि पक्राउ परेका छन्।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।