काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणलाई नियमित प्राथमिकतामा राख्न नसकेको देखिएको छ । औषधिको जथाभाबी प्रयोग र एन्टीबायोटिकको अनियन्त्रित बिक्री–वितरण रोक्न प्रभावकारी कदम चाल्नुपर्ने समयमा मन्त्रालयको नेतृत्वबाट ठोस पहल नभए पनि विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा भने मन्त्री मेहताले यस विषयमा सक्रियता देखाएकी छिन् ।
शुक्रबार आयोजित सप्ताह विशेष कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी तथा वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । उनले एन्टिमाइक्रोबियल औषधिको अविवेकी प्रयोगले उपचार खर्च बढाउनुका साथै समग्र स्वास्थ्य प्रणालीमाथि दबाब सिर्जना गर्ने धारणा राखिन् ।
कार्यक्रममा मन्त्रीले औषधिको विवेकपूर्ण प्रयोग गर्न चिकित्सक तथा सर्वसाधारणलाई आग्रह गर्नुका साथै नियामकीय निगरानीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । तर, बजारमा चिकित्सकको सिफारिसबिनै एन्टीबायोटिक औषधिको बिक्री–वितरण भइरहेको र यसको दुरुपयोग बढिरहेको अवस्थामा मन्त्रालयले नियमित अनुगमन तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको देखिँदैन ।
औषधि पसलहरूको नियमित अनुगमन, गैरकानुनी बिक्री नियन्त्रण र औषधिको प्रयोगसम्बन्धी मापदण्ड कार्यान्वयनमा मन्त्रालयको सक्रियता कमजोर देखिँदा एएमआर नियन्त्रणको विषय औपचारिक कार्यक्रममा गरिने सम्बोधनमा मात्रै सीमित हुने जोखिम बढेको छ । सचेतना सप्ताहका अवसरमा प्रतिबद्धता जनाउने तर वर्षभरि नियमन र अनुगमनलाई प्राथमिकता नदिने प्रवृत्तिले समस्या समाधानमा अपेक्षित उपलब्धि हासिल हुन कठिन देखिन्छ ।
मन्त्री मेहताले कार्यक्रममा सन् २०२४ देखि २०२८ सम्मका लागि तयार गरिएको एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिइन् । साथै, अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न प्रोटोकल तयार पारिएको पनि उल्लेख गरिन् ।
तर, राष्ट्रिय कार्ययोजना र संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित एएमआरसम्बन्धी घोषणापत्रप्रतिको प्रतिबद्धता मन्त्री मेहता पदमा आउनुअघि नै अघि बढाइएका विषय हुन् । अघिल्लो नेतृत्वकै पालामा तर्जुमा भएको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निरन्तर अनुगमन र नियमनलाई तीव्रता दिनुपर्ने जिम्मेवारी वर्तमान मन्त्रालय नेतृत्वको हो ।
नीतिगत प्रतिबद्धता दोहोर्याउनु मात्र एएमआर नियन्त्रणका लागि पर्याप्त हुँदैन । औषधिको अनियन्त्रित बिक्री रोक्ने, चिकित्सकको सिफारिसबिना हुने प्रयोग नियन्त्रण गर्ने र सम्बन्धित निकायलाई जवाफदेही बनाउने काममा मन्त्री मेहताले कस्तो नेतृत्व देखाउँछिन् भन्ने नै अहिलेको मुख्य प्रश्न हो । हालसम्मको अवस्था हेर्दा एएमआर नियन्त्रणप्रतिको उनको चासो नियमित कार्यसम्पादनभन्दा सचेतना सप्ताहका औपचारिक कार्यक्रममा बढी केन्द्रित देखिएको छ ।




प्रतिक्रिया