काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको मिति राजनीतिक दलहरूबीचको सहमतिका आधारमा निर्धारण गर्न सरकारलाई सिफारिस गर्ने जनाएको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेपछि आयोगले निर्वाचनको मिति तोक्ने विषयमा सरोकारवालाबीच साझा समझदारी कायम गर्न पहल गर्ने स्पष्ट पारेको हो ।
छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँ निर्णयकर्ता नभई सहजकर्ता र समन्वयकर्ताको भूमिकामा रहने बताए । राजनीतिक दल तथा अन्य सरोकारवालासँग समन्वय गरेर साझा सहमति जुटेपछि सोहीअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने उनको भनाइ छ ।
निर्वाचनको मिति घोषणाबारे अहिले नै निष्कर्षमा पुग्न हतार हुने उल्लेख गर्दै भट्टराईले यस विषयमा थप छलफल र समन्वय आवश्यक रहेको बताए ।
यसअघि संघ र प्रदेशसभाको निर्वाचन एकैपटक तथा स्थानीय तहको निर्वाचन छुट्टै समयमा गर्ने परिकल्पनासहित आवश्यक कानुनी तथा संवैधानिक व्यवस्था गरिएको थियो । तर, गत वर्ष विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि पूर्वनिर्धारित निर्वाचन तालिकामा फेरबदल आएको आयोगले जनाएको छ ।
निर्वाचन तालिकामा आएको परिवर्तन र आगामी निर्वाचनको समय निर्धारणका विषयमा राजनीतिक दलहरूसँग छलफल अघि बढाएको आयोगले सहमतिका आधारमा सरकारलाई मिति सिफारिस गर्ने तयारी गरेको हो ।




प्रतिक्रिया