वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन सक्ने र बढ्दो खाद्यान्न तथा इन्धनको मूल्य अझ आकासिने चिन्ता पनि व्यक्त भइरहेको छ।
यसै महिना सम्पन्न मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीले यो द्वन्द्व अन्त्य गर्ने वाचा गरेको थियो। युद्धविरुद्ध जनआक्रोश बढ्दै गएको अवस्थामा पार्टीको युद्धविरोधी अडानले उसलाई निर्वाचनमा शानदार जित हासिल गर्न ठुलो मद्दत पुर्यायो।
रिपब्लिकनहरूको बलियो पकड रहेका कयौँ क्षेत्र आफ्नो पक्षमा पार्दै सिनेट र प्रतिनिधि सभा दुवैमा बहुमत हासिल गरेपछि धेरै सांसदहरूले आगामी जनवरी ३ मा दुवै सदनको नेतृत्व सम्हालेलगत्तै युद्धका लागि नयाँ बजेट पारित गर्न अस्वीकार गर्ने घोषणा गरेका छन्।
तर पार्टीभित्रका केही नेताहरू भने नयाँ कङ्ग्रेसले कार्यभार सम्हाल्नुअघि नै अमेरिकी आक्रमण रोक्न बजेटसम्बन्धी संवैधानिक अधिकार ‘पावर अफ द पर्स’ प्रयोग गर्ने तयारीमा छन्। उनीहरूले डिसेम्बर ११ को समयसीमालाई लक्षित गरेका छन्, जुन मितिसम्म कङ्ग्रेसले केही सङ्घीय निकायहरूलाई बजेट उपलब्ध गराउन महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने बाध्यता छ।
अहिलेसम्मका मुख्य घटनाक्रम:
- युद्ध अन्त्य गर्ने विषयमा डेमोक्र्याटिक सिनेटरहरूको भनाइ के छ?
इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्ध रोक्नका लागि डेमोक्र्याटहरूले यसअघि नै विभिन्न प्रस्तावमार्फत पटक–पटक प्रयास गरे पनि ती सफल हुन सकेका छैनन्।
गत साता जारी एक संयुक्त विज्ञप्तिमा प्रतिनिधि सभा सदस्यहरू यासामिन अन्सारी र रो खन्नाले बजेट पारित गर्ने समयसीमालाई अस्त्रका रूपमा प्रयोग गर्दै करदाताको ‘एक पैसा पनि’ यो युद्ध लम्ब्याउन खर्च हुन नदिन डेमोक्र्याटिक सांसदहरूलाई आह्वान गरेका थिए।

उनीहरूले डिसेम्बर ११ सम्ममा कङ्ग्रेसले छलफल गरी पारित गर्नुपर्ने निरन्तर बजेट प्याकेज (कन्टिन्युइङ फन्डिङ प्याकेज) लाई सङ्केत गरेका थिए। रक्षा लगायत अन्य क्षेत्रहरूमा सरकारी कार्य सञ्चालन निरन्तर राख्न यो बजेट आवश्यक मानिन्छ। सांसदहरूले इरानमा ‘आक्रमणकारी सैन्य कारबाहीका लागि रकम खर्च गर्न स्पष्ट रोक नलगाउने कुनै पनि बजेट प्रस्तावलाई कङ्ग्रेसले अस्वीकार गर्नुपर्ने’ माग गरेका छन्।
उक्त प्याकेज पारित हुन नसके सङ्घीय निकायहरूको बजेट रोकिनेछ र डिसेम्बर १२ देखि सरकारी कामकाज ठप्प हुने अवस्था निम्तिनेछ।
सहकर्मी सांसदहरूलाई सम्बोधन गरिएको खुला विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘नोभेम्बर ३ को निर्वाचनमा अमेरिकी जनताले आफ्नो मत स्पष्ट रूपमा राखिसकेका छन्: उनीहरू डोनाल्ड ट्रम्पको इरानविरुद्धको गैरजिम्मेवार युद्धको तत्काल अन्त्य चाहन्छन्। त्यस्तो बजेट पारित गर्नु युद्धको तत्काल अन्त्य चाहने अमेरिकी जनताको मागविपरीत हुनेछ।’
सँगै जारी गरिएको भिडियोमा खन्नाले विगतमा कङ्ग्रेसले यही रणनीति अपनाएर भियतनाम युद्ध अन्त्य गराएको स्मरण गराए।
नयाँ कङ्ग्रेसमा सिनेट बहुमत नेताको दौडमा रहेका सिनेटर क्रिस भान होलेनले पनि गत साता जारी वक्तव्यमा पारित हुने कुनै पनि विधेयकमा ‘इरानविरुद्धको युद्ध जारी राख्न विनियोजित बजेट खर्च गर्नबाट ट्रम्प प्रशासनलाई रोक लगाउने प्रावधान अनिवार्य रूपमा समावेश हुनुपर्ने’ धारणा राखेका छन्।
यस वक्तव्यमा सिनेटरहरू ट्यामी डकवर्थ, माइकल बेनेट र स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले समेत हस्ताक्षर गरेका छन्।
- के सांसदहरूले भियतनाम युद्ध अन्त्य गर्न बाध्य पारेका थिए?
अप्रत्यक्ष रूपमा अमेरिकी वित्तीय सहयोग रोकेर उनीहरूले युद्ध अन्त्य गराएका थिए।
सन् १९५५ देखि १९७२ सम्म चलेको युद्ध कम्युनिस्ट उत्तर भियतनाम र दक्षिण भियतनामबिच भएको थियो। अमेरिकाले दक्षिण भियतनामलाई समर्थन गर्दै सुरुमा सैन्य सल्लाहकार र सहायता मात्र पठाएको थियो।
सन् १९६४ मा ‘गल्फ अफ टोन्किन’ मा तैनाथ अमेरिकी नौसेनाको टोलीले उत्तर भियतनामबाट प्रत्यक्ष आक्रमण भएको दाबी गर्यो। त्यसपछि कङ्ग्रेसले एउटा प्रस्ताव पारित गरी राष्ट्रपति लिन्डन बी जोनसनलाई युद्ध घोषणा नगरी सेना पठाउने अधिकार दियो। अमेरिकाले पाँच लाखभन्दा बढी सेना परिचालन गर्दै भीषण बमबारी सुरु गर्यो।
तर युद्ध लम्बिएसँगै भारी मानवीय क्षतिका कारण अमेरिकी सेनाको मनोबल खस्कियो र यो युद्ध अलोकप्रिय बन्दै गयो। सामूहिक बलात्कार र नरसंहार लगायतका अमेरिकी सेनाका बर्बरतासम्बन्धी विवरण सार्वजनिक भएपछि जनसमर्थन थप घट्यो। सन् १९७३ मा कङ्ग्रेसले ‘गल्फ अफ टोन्किन’ प्रस्ताव खारेज गर्दै अमेरिकी सेना फिर्ता बोलाउन निर्देशन दियो।
राष्ट्रपति रिचर्ड निक्सनको प्रशासनले अमेरिकी सैन्य जिम्मेवारी दक्षिण भियतनामी सेनालाई सुम्पन सुरु गरे पनि बमबारी भने जारी नै राखेको थियो।

सन् १९७३ को जुन महिनामा कङ्ग्रेसले ‘केस-चर्च संशोधन’ पारित गर्यो, जसले स्वीकृत सङ्घीय बजेट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धमा खर्च गर्न पूर्ण प्रतिबन्ध लगायो। दुवै सदनका दुई-तिहाइभन्दा बढी सांसदले यसको पक्षमा मतदान गरेकाले निक्सनले राष्ट्रपतीय भिटो प्रयोग गरेर यसलाई बदल्न सक्ने अवस्था रहेन।
सांसदहरूले ‘वार पावर्स रिजोल्युसन’ (युद्ध अधिकार ऐन) समेत पारित गरे, जसअनुसार आपत्कालीन अवस्थाबाहेक युद्ध घोषणा गर्नुअघि राष्ट्रपतिले कङ्ग्रेसको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरियो। निक्सनले यसमा भिटो प्रयोग गरे पनि सन् १९७३ को नोभेम्बरमा कङ्ग्रेसले उनको भिटो उल्ट्याइदियो।
अमेरिकी आर्थिक सहयोग रोकिएपछि अन्ततः सन् १९७५ को अप्रिलमा साइगनस्थित दक्षिण भियतनामको सरकार ढल्यो।
- के सबै डेमोक्र्याटहरू सरकारी बजेट रोक्न तयार छन्?
संविधानतः कङ्ग्रेसमा निहित रहेको युद्ध घोषणासम्बन्धी अधिकार प्रयोग नगरी ट्रम्प प्रशासनले इरानविरुद्ध युद्ध सुरु गर्दा डेमोक्र्याटहरू आक्रोशित बनेका थिए।
तर युद्ध अन्त्य गराउन सरकारी कामकाज ठप्प पार्ने पक्षमा सबै डेमोक्र्याटहरूको सहमति छैन।
नयाँ कङ्ग्रेसमा बजेट रोक्न सक्ने शक्तिशाली ‘हाउस एप्रोप्रिएसन्स कमिटी’ को नेतृत्व सम्हाल्न लागेकी डेमोक्र्याटिक सांसद रोजा डिलाउरोले निर्वाचनअघि सीबीएस न्युजसँग कुरा गर्दै युद्धका लागि ‘बजेट कटौती गर्ने’ कदमको समर्थन गर्ने बताएकी थिइन्।
यद्यपि उनले सरकारी कामकाज ठप्प पार्ने पक्षमा समर्थन जनाएकी छैनन्। उनले वर्षभरिका लागि बजेट दिनुभन्दा छोटो अवधिको बजेट विस्तारलाई अनुमोदन गर्न आफू तयार रहेको बताएकी छन्।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘अमेरिकी जनता हामीले युद्ध अन्त्य गरेको हेर्न चाहन्छन् भन्ने मलाई लाग्छ। तर सरकारी कामकाज ठप्प पारेर युद्ध रोकिन्छ भन्ने विश्वास अमेरिकी जनताले गर्दैनन् भन्ने पनि मेरो बुझाइ छ।’
आगामी जनवरीमा प्रतिनिधि सभाको सभामुख बन्ने सम्भावना रहेका डेमोक्र्याटिक नेता हाकिम जेफ्रिज र सिनेटका अल्पसङ्ख्यक नेता चक शुमरले यस विषयमा अहिलेसम्म कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।
- के राष्ट्रपतिले भिटो अधिकार प्रयोग गर्न सक्छन्?
सक्छन्, किनभने आगामी ६ सातासम्म कङ्ग्रेसमा रिपब्लिकनहरूकै नियन्त्रण रहनेछ। वर्तमान र आगामी कङ्ग्रेस दुवैमा राष्ट्रपतीय भिटो उल्ट्याउन आवश्यक पर्ने दुई-तिहाइ बहुमत डेमोक्र्याटहरूसँग छैन।

१०० सदस्यीय सिनेटमा दुई-तिहाइ बहुमतका लागि ६७ मत आवश्यक पर्छ। नयाँ कङ्ग्रेसमा ५६–४४ को बहुमत प्राप्त गर्दा पनि डेमोक्र्याटहरूलाई ११ मत पुग्नेछैन।
त्यसैगरी, ४३५ सदस्यीय प्रतिनिधि सभामा दुई-तिहाइका लागि २९० मत चाहिन्छ, तर आगामी कङ्ग्रेसमा डेमोक्र्याटहरूले २५७ सिट मात्र सुरक्षित गरेका छन्।
पछिल्ला महिनाहरूमा बहुमत नभए पनि डेमोक्र्याटहरूले दुवै सदनमा युद्ध अधिकारसम्बन्धी १५ भन्दा बढी प्रस्तावहरू मतदानमा लगेका थिए, तर ती पारित हुन सकेनन्।
गत सेप्टेम्बरमा ट्रम्पलाई रोक्ने प्रयासस्वरूप प्रतिनिधि सभाका सात जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूको पक्षमा मतदान गरेपछि प्रस्ताव २२०–२०४ मतले पारित भएको थियो।
तर गत साता सिनेटका रिपब्लिकनहरूले ५१–४८ मतले उक्त प्रस्ताव रोकिदिए।
युद्धको चर्को आर्थिक भार स्वीकार गरे पनि अमेरिकाले यो ‘काम पूरा गर्नुपर्ने’ जिकिर रिपब्लिकनहरूले गर्दै आएका छन्।




प्रतिक्रिया