अन्ताल्या । टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ‘कोप-३१’ मा जीवाश्म इन्धन र आर्थिक सहायताका विषयमा गम्भीर मतभेद उत्पन्न भएपछि जलवायु परिवर्तन रोकथामसम्बन्धी नयाँ सम्झौता हुन सकेन।
शुक्रबार नै सम्पन्न हुनुपर्ने वार्ता साझा सहमति खोज्ने क्रममा लम्बिएर आइतबारसम्म पुगेको थियो। यससँगै यो सम्मेलन संयुक्त राष्ट्रसङ्घको इतिहासकै सबैभन्दा लामो जलवायु सम्मेलन बन्न पुगेको छ।
तर, विश्वव्यापी तापमान वृद्धिको मुख्य कारक मानिएको जीवाश्म इन्धनको विषय प्रत्यक्ष रूपमा उल्लेख नगरिएपछि अन्तिम मस्यौदा सम्झौता युरोपेली युनियन (ईयू) तथा प्रशान्त महासागरीय टापु राष्ट्रहरू लगायतलाई स्वीकार्य भएन।
उता, बढ्दो तापक्रमका असरसँग जुध्न (अनुकूलनका लागि) धनी राष्ट्रहरूबाट स्पष्ट वित्तीय प्रतिबद्धता नआएको भन्दै गरिब देशहरूले कडा आपत्ति जनाए।
यसअघि सन् २००९ मा कोपनहेगनमा सम्पन्न सम्मेलनमा मुख्य राजनीतिक सम्झौता यसैगरी असफल भएको थियो।
आफ्नो कार्यकाल सकिनुअघिको अन्तिम जलवायु सम्मेलनमा सहभागी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफू ‘गहिरो रूपमा निराश भएको’ बताए।

उनले ‘शक्तिशाली जीवाश्म इन्धन समूहहरूको स्वार्थ’ माथि प्रहार गर्दै भने, ‘उनीहरूले सुर्तीजन्य कम्पनीहरूको पुरानै रणनीति पछ्याइरहेका छन्—विज्ञानलाई बङ्ग्याउने, नीति निर्माणमा ढिलासुस्ती गर्ने, ठोस कदम रोक्ने र सर्वसाधारणले यसको मूल्य चुकाइरहँदा आफू चाहिँ अथाह नाफा कमाउने।’
सम्मेलनको सह-आयोजक राष्ट्र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यो असफलताको कारण ‘जटिल भूराजनीतिक अवस्था’ रहेको बताए। सोमबार उनले भने, ‘वास्तविकता यही हो।’
दुई साता लामो वार्तापछि गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप थकित प्रतिनिधिहरूसामु आइतबार बिहान नयाँ मस्यौदा सम्झौता पेस गरिएको थियो।
तर मस्यौदामा ‘जीवाश्म इन्धन’ शब्द कतै उल्लेख थिएन। कोइला, तेल र ग्यासको एकमात्र अप्रत्यक्ष सन्दर्भ सन् २०२३ को ‘कोप-२८’ सम्झौताको स्मरण मात्र थियो, जसमा ऊर्जा प्रणालीहरूबाट जीवाश्म इन्धन ‘हटाउँदै जाने’ (ट्रान्जिसन अवे) सहमति भएको थियो।
ईयूका प्रतिनिधि तथा आयरल्यान्डका मन्त्री डारा ओब्रायनले ईयूको ‘कडा’ आपत्ति रहेको स्पष्ट पार्दै भने, ‘जलवायु परिवर्तनसँग लड्न आवश्यक महत्त्वाकाङ्क्षाको छेउछाउसम्म पनि यी निर्णयहरू पुग्न सकेका छैनन्।’
उनले थपे, ‘जीवाश्म इन्धनको कुनै चर्चा नै नभएको जलवायु सम्झौता हुनु विवेकहीन कुरा हो।’
पनामा र मार्सल आइल्यान्ड्स लगायतका अन्य देशहरूले पनि जलवायु परिवर्तनको गति रोक्न यो सम्झौता पर्याप्त नभएको भन्दै आलोचना गरे।

सोमबार सार्वजनिक सम्झौताको पहिलो मस्यौदामा ‘जीवाश्म इन्धन’ शब्द छ पटक परेको थियो, तर तेल उत्पादक राष्ट्रहरूलाई त्यो स्वीकार्य भएन।
साउदी अरबका प्रतिनिधि मोहम्मद अयुबले अरब देशहरूले ‘सद्भावपूर्वक वार्तामा भाग लिइरहेको’ जिकिर गर्दै ऐतिहासिक हरितगृह ग्यास उत्सर्जनमा आफ्नो हिस्सा निकै न्यून रहेको तर्क गरे।
यस्तै, रुसले कोइला, तेल र ग्यासका विषयमा ‘नाराबाजीमा नउत्रिन’ चेतावनी दिँदै जीवाश्म इन्धनबाट हतारिएर पछि हट्दा ‘इन्धन गरिबी’ निम्तिने दाबी गर्यो।
बढ्दो तातो हावा (लु) र चरम खडेरीजस्ता जलवायु प्रभावहरूसँग जुध्न गरिब देशहरूलाई दिइने आर्थिक सहयोगको विषय वार्ताको अर्को मुख्य पेचिलो मुद्दा बन्यो।
गत वर्ष ब्राजिलमा सम्पन्न ‘कोप-३०’ मा यस प्रयोजनका लागि वित्तीय सहयोग तीन गुणा बढाउने सहमति भएको थियो।
तर यस वर्षको सम्झौतामा कुनै ठोस आँकडा वा उक्त प्रतिबद्धता मापन गर्ने आधार रेखासमेत उल्लेख भएन। यसले धनी राष्ट्रहरूलाई आफ्नो जिम्मेवारीबाट पन्छिने ठाउँ दिने चिन्ता बढायो।
अफ्रिकी जलवायु तथा ऊर्जा अध्ययन संस्था ‘पावर सिफ्ट अफ्रिका’ का मोहम्मद अडोउले भने, ‘धनी राष्ट्रहरू र प्रदूषण फैलाउने सरकारहरू सधैँ रित्तो हात आइरहन मिल्दैन।’
बेलायतकी ऊर्जा मन्त्री मियाटा फानबुल्लेहले राजनीतिक सहमति जुट्न नसक्नुलाई ‘अत्यन्तै निराशाजनक’ भनी टिप्पणी गरिन्।
उनले भनिन्, ‘यसले जलवायु सङ्कट समाधानका लागि अन्ताल्यामा हासिल भएको वास्तविक प्रगतिलाई आधार बनाएर विश्वभरका साझेदारहरूसँग सहकार्य गर्ने हाम्रो सङ्कल्पलाई अझ दृढ बनाएको छ।’ उनले बेलायतको प्रतिबद्धता ‘अविचलित’ रहेको समेत उल्लेख गरिन्।

- ‘ओभरसुट’ को युगमा जलवायु वार्ता
टर्कीको अन्ताल्यामा सम्मेलन आयोजना भए पनि वार्ताको औपचारिक नेतृत्व अस्ट्रेलियाले गरेको थियो, जसलाई कतिपय विश्लेषकहरूले अस्तव्यस्त परिस्थितिका रूपमा व्याख्या गरे।
अस्ट्रेलियाली सरकारका मन्त्री तथा कोप-३१ वार्ताका अध्यक्ष क्रिस बोवेनले छलफलमा ‘मेटाउन नसकिने लक्ष्मणरेखाहरू’ देखिएको बताए।
उनले ‘हाम्रो पुस्ताले देखेको सबैभन्दा जटिल र तनावपूर्ण भूराजनीतिक वातावरण’ तर्फ औँल्याए। सँगसँगै उनले ‘जलवायु परिवर्तनका प्रभावहरू झन् भयावह बन्दै गएको’ उल्लेख गर्दै जोखिम बढ्दै गएको बताए।
सन् २०२६ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ज हुन सक्ने देखिएको छ। यस वर्ष युरोपको प्रचण्ड गर्मी र खडेरीदेखि नेपालको आकस्मिक बाढीसम्मले विश्वका धेरै भागमा चरम मौसमी विपत्ति निम्त्याएको छ।
जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी एउटा प्रमुख अन्तर्राष्ट्रिय लक्ष्य कसरी पूरा हुन नसक्ने अवस्थामा पुग्यो भन्ने विषयमा औपचारिक छलफल गर्ने ‘कोप-३१’ पहिलो वार्षिक राष्ट्रसङ्घीय सम्मेलन बनेको छ।
सन् २०१५ को पेरिस वार्तामा झण्डै दुई सय देशहरूले जलवायु परिवर्तनका खराब असरहरूबाट बच्नका लागि विश्वव्यापी तापक्रम वृद्धिलाई १८०० को दशकको उत्तरार्द्ध (पूर्व-औद्योगिक स्तर) भन्दा १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रयास गर्न सहमति जनाएका थिए।
राष्ट्रसङ्घका अनुसार पेरिस सम्झौताले ‘लगभग विश्वव्यापी’ जलवायु कदम चाल्न प्रेरित गरेको छ। सन् २०१० को दशकको सुरुतिर यस शताब्दीको अन्त्यसम्ममा विश्वको तापमान ४ डिग्री वा त्योभन्दा बढी बढ्न सक्ने गम्भीर सम्भावना देखिन्थ्यो।

हाल सरकारहरूका विद्यमान नीतिका आधारमा सन् २१०० सम्ममा तापमान वृद्धिलाई करिब २.८ डिग्री सेल्सियसमा सीमित गर्न सकिने राष्ट्रसङ्घको आकलन छ।
तर पेरिस लक्ष्य हासिल गर्नका लागि चालिएका कदमहरू पर्याप्त द्रुत हुन सकेका छैनन्। आगामी केही वर्षभित्रै विश्वको दीर्घकालीन तापमान वृद्धि १.५ डिग्रीको सीमा नाघेर अघि बढ्ने (‘ओभरसुट’ हुने) सम्भावना छ।
धेरै देशहरूले अन्ततः तापमानलाई पुनः १.५ डिग्रीमै झार्न आफूहरू प्रतिबद्ध रहेको बताए पनि त्यसका लागि वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाउने प्रविधिहरूको व्यापक विस्तार आवश्यक पर्नेछ, जुन प्रविधि हाल ठुलो मात्रामा उपलब्ध छैनन्।
मुख्य सम्झौता असफल भए पनि केही विषयमा सहमति जुटेको छ। जसमा स्वच्छ ऊर्जातर्फको यात्रामा श्रमिक र समुदायलाई सहयोग पुर्याउने खाकाका रूपमा ‘न्यायोचित रूपान्तरण संयन्त्र’ (जस्ट ट्रान्जिसन मेकानिजम) सम्बन्धी प्रगति समावेश छ।
कोप-३१ का अध्यक्षका अनुसार सन् २०३५ सम्ममा विश्वको कुल ऊर्जा खपतमा विद्युतीय ऊर्जाको हिस्सा ३५ प्रतिशत पुर्याउने टर्कीको लक्ष्यलाई ८० भन्दा बढी देशले समर्थन जनाएका छन्।
तर साताको अन्त्यमा घटेका घटनाक्रमपछि सर्वसम्मतिका आधारमा चल्ने राष्ट्रसङ्घीय जलवायु प्रक्रिया भूराजनीतिक रूपमा विभाजित वर्तमान विश्वमा सफल हुन सक्छ वा सक्दैन भन्ने प्रश्न उठेको छ।
राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले यस प्रक्रियामा सम्भावित सुधारका लागि सल्लाह लिने बताएका छन्। अर्को सम्मेलन आगामी सन् २०२७ को नोभेम्बरमा इथियोपियामा ‘कोप-३२’ का रूपमा आयोजना हुँदैछ।
बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हामीलाई यहाँसम्म ल्याउन सर्वसम्मतिको प्रक्रियाले काम गरेको छ। यसैले हामीलाई पेरिससम्म पुर्यायो, त्यसैले यसले काम गर्न सक्छ।’ यद्यपि आइतबार यो प्रक्रिया ‘अपूर्ण साबित भएको’ उनले स्वीकार गरे।
प्रतिनिधिहरूलाई सम्बोधन गर्दै स्टिलले भने, ‘राष्ट्रसङ्घीय जलवायु प्रक्रियाले विगतमा पनि धक्का व्यहोरेको छ र अझ सशक्त भएर फर्किएको छ। यसपटक पनि त्यसै हुनुपर्छ।’




प्रतिक्रिया