काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति गलत दिशामा जान नदिन राजनीतिक दलहरूले जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए।
अमेरिकालगायत विभिन्न देशमा भएका निर्वाचनले एउटै शक्ति सधैँ सत्तामा नरहने देखाएको उल्लेख गर्दै नेता नेपालले दलहरू जनतासँग जोडिनुपर्नेमा जोड दिए। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
उनले नेपालको आन्तरिक मामिलामा कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नहुने धारणा राख्दै आफूहरू समाजवाद र एक चीन नीतिको पक्षमा रहेको बताए।
चीनले अपनाएको समाजवादी व्यवस्था र राज्य सञ्चालनको अनुभव नेपालका लागि पनि अध्ययन तथा उपयोगको विषय भएको उनले उल्लेख गरे। चिनियाँ कम्युनिस्ट पार्टीको हालैको केन्द्रीय बैठकबाट पारित निर्णय र प्रस्तावलाई पनि उनले महत्त्वपूर्ण रूपमा व्याख्या गरे।
नेता नेपालले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन नेता तथा कार्यकर्ताहरू सक्रिय हुनुपर्ने बताए। जनतासँगको दूरी घटाउँदै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरूसँग समेत हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने कुरामा सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ।’




प्रतिक्रिया