गान्धीका आदर्श आत्मसात् गर्दै नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउने प्रधानमन्त्री बालेनको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीको सत्य, अहिंसा र सेवाभावको आदर्शलाई आत्मसात् गर्दै नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारत भ्रमणका क्रममा सोमबार बिहान राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले गान्धीको जीवनले सत्यको शक्ति संसारका अन्य शक्तिभन्दा ठूलो हुने प्रमाणित गरेको बताएका हुन् ।

‘भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश देखेको छु, जसले करुणा नै सबैभन्दा ठूलो शक्ति हो र वास्तविक नेतृत्व भनेको समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवा गर्नु हो भन्ने सन्देश दिन्छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटतामा मात्र सीमित नरहेको उल्लेख गर्दै आस्था, आत्मीयता र पुस्तौँदेखिको मित्रताले दुई देशलाई जोडेको बताएका छन् ।

गान्धीका कालजयी आदर्शको सम्मान गर्दै इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका आधारमा नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने नेपालको प्रतिबद्धता उनले दोहोर्‍याएका छन् ।

‘गान्धीजीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको हाम्रो साझा यात्रालाई सधैँ मार्गदर्शन गरिरहून्,’ प्रधानमन्त्री शाहले भनेका छन् ।