हस्तमाया बस्नेतको ठगीधन्दा: ‘बहिनी’ भन्दै आत्मीय सम्बन्ध गाँसिन्, अन्ततः परिवारलाई नै बनाइन् विचल्लीमा!


काठमाडौं। हस्तमाया बस्नेतबाट आर्थिक तथा जग्गा कारोबारका क्रममा आफू ठगीमा परेको आरोप लगाउने महिलाहरूमध्ये चाबहिलकी मन्दिरा खड्का पनि अगाडि आएकी छन्। उनले महिला समूहको नाममा विश्वासमा लिएर आफूलाई जग्गा कारोबारमा संलग्न गराइएको र अहिले रकम पनि नपाएको, जग्गा पनि गुम्ने अवस्थामा पुगेको बताएकी छन्।

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पीडा सार्वजनिक गर्दै खड्काले सुरुमा हस्तमाया बस्नेतले आफूलाई ‘बहिनी’ भन्दै आत्मीय सम्बन्ध बनाएर महिला समूहमा आबद्ध गराएको बताइन्। आफू पनि महिला आत्मनिर्भर हुनुपर्छ र आर्थिक रूपमा सक्षम बन्नुपर्छ भन्ने सोचका साथ कारोबारमा जोडिएको उनको भनाइ छ।

खड्काका अनुसार उनले सानो जग्गाको कारोबार गरिरहेका बेला हस्तमाया बस्नेतले उक्त जग्गा आफूले किन्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि आपसी विश्वासका आधारमा जग्गा खरिद–बिक्रीको प्रक्रिया अघि बढेको र बस्नेतले करिब ३९ लाख ४५ हजार रुपैयाँ लगेकाे उनले बताइन्।

उनका अनुसार बस्नेतले पछि रकम मिलाउने भन्दै वडा कार्यालयमा कागजसमेत गराएकी थिइन्। तर अहिले न त आफूले जग्गाको उचित मूल्य पाएको छ, न त जग्गा नै फिर्ता पाउन सकेकी छन्। रकम र जग्गा दुवैको विषय टुंगो नलागेको अवस्थामा उल्टै आफूविरुद्ध मुद्दा दायर गरिएको खड्काको आरोप छ।

श्रीमानकाे परिवारको जग्गासमेत रोक्का

खड्काले हस्तमाया बस्नेतसँगको विवादका कारण आफ्नो मात्र नभई श्रीमानकाे परिवारका सदस्यहरूको सम्पत्तिसमेत रोक्का भएको बताइन् ।

उनका अनुसार छोरा कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययन गरिरहेका थिए। विदेश जाने तयारीसमेत भइरहेको अवस्थामा जग्गा रोक्का भएपछि परिवारमा थप समस्या भएङ्काे उनले बताइन्। यस घटनाले छोराको मानसिक अवस्थामा समेत गम्भीर असर परेको र परिवार नै तनावमा रहेको उनको भनाइ छ।

‘मेरो एउटा कारणले ३५ घरपरिवारलाई ध्वस्त बनाइदिएको छ भनेपछि एउटा व्यक्तिलाई मात्रै न्यायालयले बचाएर हुँदैन नि। न्याय पाउनुपर्नेले न्याय पाउनुपर्छ,’ रुँदै उनले भनिन्।

नौ–दश जनाको जाहेरी हुँदाहुँदै एक दिनमै छुटेको आरोप

खड्काले आफूहरू करिब एक वर्षदेखि प्रहरी कार्यालयमा निरन्तर उजुरी तथा न्यायका लागि प्रयास गर्दै आएको बताइन्। उनका अनुसार आफूहरू सहित नौदेखि दस जनाले हस्तमाया बस्नेतविरुद्ध जाहेरी दिएका थिए।

तर बस्नेतलाई पक्राउ गरिएको केही समयमै रिहा गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। आफूले पछि बुझ्दा लेनदेनसम्बन्धी मुद्दाको कारण देखाएर उनलाई छाडिएको जानकारी पाएको खड्काको भनाइ छ।

बस्नेत छुटेपछि प्रहरी परिसरभित्रै आफूलाई धम्की दिएकोसमेत उनले बताइन्। ‘तँलाई अब म के गर्छु, तँलाई देखाइदिन्छु’ भन्दै धम्की दिएको उनको भनाइ छ। उक्त घटनापछि आफू थप असुरक्षित र मानसिक रूपमा पीडित भएको उनले बताइन्।

सुरक्षाका लागि दिएको चेक नै समस्याको कारण

खड्काले कारोबारका क्रममा सुरक्षाका लागि हस्ताक्षर गरेर खाली चेक दिएको बताइन्। बस्नेतले आफू धार्मिक स्वभावको व्यक्ति भएको र कसैको पैसा नखाने भन्दै विश्वास दिलाएको उनको भनाइ छ।

तर अहिले त्यही चेक तथा कागजातका आधारमा आफूलाई आर्थिक र कानुनी समस्यामा पारिएको खड्काको आरोप छ। उनले आफूले हस्तमाया बस्नेतलाई विभिन्न समयमा ठूलो रकम दिएको दाबी गर्दै आफ्नो सम्पत्ति तथा जग्गासमेत रोक्का भएको बताइन्।

उनले महिला आत्मनिर्भर बन्ने र आफ्नै खुट्टामा उभिने उद्देश्यले परिवारसँग समेत सल्लाह गरेर आर्थिक कारोबारमा लागेको बताइन्। आजभन्दा ६–७ वर्षअघि आफू आर्थिक कारोबारका विषयमा त्यति परिपक्व नभएको र विश्वासकै आधारमा अघि बढ्दा अहिले यस्तो अवस्था आएको उनको भनाइ छ।

खड्काले आफूहरूसँग भएका आर्थिक कारोबारका कागजात, चेक, भुक्तानी विवरण तथा वडा कार्यालयमा गरिएको सम्झौतासमेत निष्पक्ष रूपमा अध्ययन गर्न माग गरेकी छन्। उनले आफूले गुमाएको रकम र सम्पत्तिको विषयमा न्याय पाउनुपर्ने तथा आफूलाई धम्की दिने कार्यको समेत छानबिन हुनुपर्ने माग गरेकी छन्।