बिरामीलाई अन्य अस्पतालमा पठाउनेविरुद्ध मानव बेचबिखनको मुद्दा चलाउने गृहमन्त्रीको चेतावनी


सुनसरी । गृहमन्त्री सुधन गुरुङले अस्पतालमा आएका बिरामीलाई कमिसनको लोभमा अन्य अस्पतालमा पठाउने विचौलियाविरुद्ध मानव बेचबिखनको मुद्दा चलाउने चेतावनी दिएका छन्।

शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले बिरामीको किनबेच भइरहेको गुनासो आएको भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्ने बताएका हुन्।

प्रतिष्ठानमा पत्रकारहरूसँग कुरा गर्दै उनले बिरामीलाई कमिसनका लागि अन्यत्र पठाउने कार्य रोक्न प्रहरीले केही दिनभित्रै विशेष अपरेसन सञ्चालन गर्ने जानकारी दिए।

अस्पतालमा आएका बिरामीको उपचार सम्भव नहुने अवस्थामा चिकित्सक तथा सम्बन्धित विभागको सिफारिसमा मात्रै अन्य अस्पतालमा रिफर गर्नुपर्ने व्यवस्था छ। तर, बीपी प्रतिष्ठानबाट विचौलियाहरूले यहाँभन्दा अन्य अस्पतालमा राम्रो र छिटो उपचार हुने भन्दै कमिसन लिएर निजी अस्पतालमा पठाउने गरेको गुनासो छ।

यस कार्यमा एम्बुलेन्स चालकसमेत संलग्न हुने गरेको आरोप छ। बिरामीलाई कमिसनको प्रलोभनमा अन्य अस्पतालमा पठाएको आरोपमा केही महिनाअघि प्रतिष्ठान परिसरबाट १२ जनाभन्दा बढी पक्राउ परेका थिए।

यस्ता गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले गृहमन्त्री गुरुङले प्रहरीलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएको बताएका छन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङसँग कोशी प्रदेश प्रहरी प्रमुख तथा सुनसरीका प्रमुख जिल्ला अधिकारीलगायत अधिकारीहरू पनि सहभागी थिए।