सरकारलाई शैली सच्याउन कांग्रेसको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आफ्नो कार्यशैली सच्याउँदै विधि र संवैधानिक मर्यादाभित्र रहेर जनसरोकारका विषयमा केन्द्रित हुन सचेत गराएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई विधिसम्मत ढङ्गले अघि बढ्न तथा राष्ट्रिय हित र जनअपेक्षालाई प्राथमिकतामा राख्न आग्रह गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयमा कांग्रेसले आफू सरकारको असफलता नभई देशको सफलता चाहने पक्षमा रहेको स्पष्ट पारेको छ। सरकारले षड्यन्त्र र प्रियतावादमा नभई राष्ट्रिय हित र जनअपेक्षामा केन्द्रित भएर काम गर्नुपर्ने कांग्रेसको भनाइ छ।

सरकारका सकारात्मक काममा आफ्नो साथ र सहयोग रहने जनाउँदै कांग्रेसले सरकारको सफलता वा असफलताभन्दा संविधान, लोकतन्त्र, राष्ट्रिय हित, नागरिक अधिकार र जनजीविकाका सवाल आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरेको छ।

त्यस्तै, कांग्रेसले आफ्नो संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न सरकारलाई सचेत गराएको छ।

बैठकले सशक्त प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

कांग्रेसले संविधान र लोकतन्त्रको रक्षा, विधिको शासन, नागरिकका अधिकार तथा जनजीविकाका सवालमा संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिमार्फत निरन्तर निगरानी, खबरदारी र सशक्त प्रतिरोध गर्ने जनाएको छ।