काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई थप तीव्र बनाउने बताएका हुन्।
विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई निरन्तरता दिन नसकिएको उनको भनाइ थियो। एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै उनले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यका साथ आफूहरू अघि बढिरहेको बताए।
दाहालले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको जानकारी दिए। अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको उनले बताए।
विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य तथा कार्यगत एकतालाई विस्तार गर्न सके मात्रै देशमा देखिएका समस्याको समाधान गर्न सकिने उनको भनाइ थियो।
उनले सबै पक्षलाई केन्द्र र स्थानीय तहमा समेत सामूहिक प्रयास गर्न आग्रह गर्दै विभिन्न कम्युनिष्ट शक्तिबीचको सहकार्य र कार्यगत एकताको प्रक्रियालाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।
यसैगरी, संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको बताए।
शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्यका लागि सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनले जानकारी दिए।




प्रतिक्रिया