लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन गर्दैछौँ : परराष्ट्रमन्त्री खनाल

File Photo

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा उद्योग, व्यवसाय तथा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारले कानुनी तथा नियामकीय सुधारलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ का बासिन्दासँग आइतबार भएको भेटघाटका क्रममा मन्त्री खनालले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुन संशोधनको काम भइरहेको जानकारी दिएका हुन्।

उनले केही हप्ताभित्रै सरकारले संशोधन गर्न लागेका कानुन र त्यसबाट उद्योग, व्यवसाय तथा लगानीका क्षेत्रमा पर्ने प्रभावबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताए।

उद्योग व्यवसाय विस्तार नभएसम्म रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिन नसक्ने उल्लेख गर्दै उनले लगानी आकर्षित गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए।

‘जति हामी देशलाई लगानीमैत्री बनाउन सक्छौँ, त्यति नै उद्योग व्यवसाय फस्टाउँछन्। त्यसबाट बल्ल रोजगारी सिर्जना हुन्छ भन्ने दृष्टिकोणसहित काम गर्दैछौँ,’ उनले भने, ‘त्यसको नतिजा आउन केही समय लाग्छ।’

मन्त्री खनालले व्यापार व्यवसाय सञ्चालन र लगानीका लागि विद्यमान कानुनी जटिलता हटाउनुपर्ने आवश्यकता औँल्याए। कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण बनाउन कठिन हुने भन्दै उनले सरकार र संसद् मिलेर आवश्यक कानुन संशोधन गर्नुपर्ने धारणा राखे।

यसका लागि आगामी संसद् अधिवेशनमा समेत कानुन संशोधनको प्रक्रियालाई अघि बढाउने सरकारको तयारी रहेको उनले बताए। केही कानुन संशोधनको प्रक्रिया परराष्ट्र मन्त्रालयबाट समेत सुरु भइसकेको मन्त्री खनालले जानकारी दिए।