सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलनमा उत्रिने शिक्षक महासङ्घको चेतावनी


काठमाडौं । नेपाल शिक्षक महासङ्घले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वार्ताका क्रममा सहमति जनाउने तर कार्यान्वयनमा इमानदारिता नदेखाउने प्रवृत्तिका कारण शिक्षक तथा कर्मचारी वर्षौंदेखि उही समस्या र मागमा अल्झिनुपरेको बताएका छन्।

वर्तमान सरकारले समेत शिक्षक तथा कर्मचारीका समस्याप्रति संवेदनशीलता नदेखाएको भन्दै महासङ्घले सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ। सहमति कार्यान्वयनमा निरन्तर बेवास्ता भए कडा आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।

महासङ्घले शिक्षकहरूको निवृत्तिभरण, सेवा सुविधा, दरबन्दी तथा विद्यालय शिक्षा ऐनसँग सम्बन्धित विभिन्न माग अघि सारेको छ।

नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने र ऐन जारी भएपछि स्थायी हुने शिक्षकका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने महासङ्घको माग छ। साथै, शिक्षकको अस्थायी सेवा अवधिलाई समेत जोडेर निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले पाउँदै आएको दुर्गम तथा स्थानीय भत्ता कटौती गरिएको र विगतमा खाइपाइ आएको भत्तालाई बेरुजु देखाएर फिर्ता गर्न पत्राचार गरिएको विषयप्रति महासङ्घले आपत्ति जनाएको छ। उक्त निर्णय सच्याएर शिक्षकलाई न्याय दिन पनि उसले माग गरेको छ।

विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका लागि आवश्यक दरबन्दी सिर्जना गरी पदअनुसारको तलब तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने महासङ्घको अर्को माग छ।

यसैगरी, विगतमा सरकारसँग भएका सहमति समेटेर अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, तेस्रो राष्ट्रिय परिषद्बाट पारित ५४ सूत्रीय माग सम्बोधन गर्न तथा शिक्षा नियमावलीको व्यवस्थाअनुसार पेस गरिएको महासङ्घको विधान स्वीकृत गर्न सरकारसँग आग्रह गरिएको छ।