केपी ओली पञ्चायती व्यवस्थाको शासकजस्तो हुनुभयोः उषाकिरण तिम्सिना (भिडिओसहित)


काठमाडौं, १३ पुस । नेकपा (एमाले) की निष्काशित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओली पञ्चायती व्यवस्थाको शासकजस्तो बनेको टिप्पणी गरेकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पञ्चायती व्यवस्थाको शासकजस्तो बनेर आफूहरुमाथि कारबाहीको डन्डा चलाइएको बताईन् । पार्टीको हितविरीत गतिविधि गरेको भन्दै एमालेले उषाकिरण र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको थियो ।

‘तपाईँको पार्टीको अहिलेको नेतृत्व चाहीँ पञ्चायती व्यवस्थाको शासकजस्तो भयो हैन ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘कुनै–कुनै मामलामा भयो । हाम्रो मामलामा हुनुभयो । चार लाइन लेख्न पाइँदैन भने पार्टीमा कोही लाग्छ ? मलाई हेरेर कोही पार्टीमा लाग्छ ? मलाई त्यस्तो लागेको हो ।’

साथै, उनले व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गा लिएर एमाले गलत गरेको बताईन् । आफूमाथि जस्तोसुकै डन्डा चलाएपनि गलतलाई गलत भन्न नछाड्ने उनले बताईन्। पार्टीमा व्यापारीको हाबी हुन नहुने उनको भनाइ छ । उनले पार्टी कार्यालय बनाउन दाने जग्गा लिने एमालेको निर्णयका विरुद्धमा बोलेर आफूले गल्ती गरेको महशुस नै नभएको बताईन् ।

‘यो विषयमा गल्ती होईन, अझैपनि मैले गल्ती महसुश गरेको छैन । मेरो दृष्टिमा त्यो ठीक छ । यही विषयमा पनि हाम्रा पदाधिकारीबीच मत बाझिएको छ । समाजबाट पनि जुन प्रक्रिया आइरहेको छ, यसमै जाँच्ने हो नि त आफूलाई । यसमा जाँच्दाखेरी भयंकर गल्ती गरियो जस्तो लागेको छैन । पछुतो किन गर्ने ?’ प्रश्न गर्दै उनले भनिन् ।

साथै, उनले आफू एमाले छाडेर अर्को कुनै पार्टीमा नजाने पनि बनाईन् । आन्तरिक रुपमा संघर्ष गरेर नै एमालेमा रहने उनको भनाइ छ । तिमेल्सिनाले अन्तर पार्टीमा लोकतन्त्रको अभ्यास गर्ने क्रममा ओलीको कमजोरी देखिएको बताईन् ।