स्वास्थ्यका लागि बिहानीको हिँडाई अनिवार्य छ : राजेश हमाल


शरद रेग्मी/ दाङ, फागुन ७ । प्रजातन्त्र दिवसको अवसरमा दाङको तुलसीपुरमा वाकाथन अभियान सुरु गरिएको छ ।
सामाजिक अभियन्ता एवम बालरोग बिशेषज्ञ डाक्टर किशोर खत्रीले पाँच वर्ष पहिले एक्लै सुरु गरेको बिहानीको हिँडाईमा आजसम्म हजारौ नागरिकहरु जोडिन सफल भएका छन ।

अभियानमा जोडिन नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल र म्याराथुन धावक हरि रोकाय दाङ पुगेका छन ।
उनिहरुले हजारौ सर्वसाधारण सहित बिहान ७ किलोमिटरको हिँडाई पुरा गरेर नागरिकहलाई हौसला प्रदान गरेका छन् ।


सो अवसरमा नायक हमालले ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका साथ सुरु भएको यो अभियानले सार्थकता पाएको बताए । डाक्टर किशोर खत्रीले ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका साथ ‘वाकाथन’ अभियान सुरु गरेको जानकारी दिए । यो अभियानलाई राष्ट्रिय अभियानका रुपमा सुरुवात गर्न लागेको बताउँदै बिहानको हिँडाइ स्वास्थ्यका लागि प्रभावकारी हुने उनको भनाई छ ।

यो अभियानले तुलसीपुरवासीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरेको उनले बताए । सो अवसरमा धाबक हरि रोकायले आफु बिगत २७ बर्षदेखि दौडिरहको बताउँदै यसमा जोडिन सबैलाई आग्रह गरे।