काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति र चरित्रको कारणले अहिलेको कांग्रेस–एमाले नेतृत्वको सरकार धेरै लामो नजाने ठोकुवा गरेका छन् ।
आज (बुधबार) विहान प्राइम टिभीबाट प्रसारण भएको प्राइम सम्वाद कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले भने,‘उहाँले छिमेकहरुसँगको सम्बन्ध पनि राम्रो बनाउन सक्नुभएन, दुवै छिमेकीसँग अनि टाढाका मित्रहरुसँगको, किनभने उहाँ अलिक अहंकारी, मै हुँ, अलिक दम्भ, आफ्नो देशकोलागि अडान लिनुपर्छ । तर, दम्भ त कसैले पनि मन पराउँदैन् । अर्को कुरा, अहिले गठबन्धनको सरकार छ । ठूलो पार्टी कांग्रेस हो, दोस्रो ठूलो दल एमालेले सरकारको नेतृत्व गरिरहेको छ । तर, उहाँले एमालेको एकल बहुमतजस्तै गर्नुभएको छ । हामी माओवादीसँग गर्दापनि त्यही गर्नुभयो, एकल बहुमतजस्तो । तेस्रो कुरा, उहाँले सबै मन्त्रालयहरु एक्लै चलाउनुहुन्छ । सचिवहरुमार्फत र डिजीमार्फत चलाउनुहुन्छ । अनि अपजसजति मन्त्रीहरुमा हालिदिनुहुन्छ ।’
उनले अहिलेको सरकार धेरै लामो नजाने जिकिर दोहोर्याए । कांग्रेसभित्रैबाट आवाज उठेको र एमालेभित्रैबाट पनि यो तरिकाले चल्दैन भनेर आवाज उठ्न थालेको उनको भनाई छ । उनले सरकारको नेतृत्व गरेको ७ महिना पूरा भएर ८औं महिनामा चलिरहेको भएपनि आशा जगाउने काम नगरेको आरोप लगाए । अहिले भ्रष्टाचार पनि बढिरहेको पुनको दाबी छ । उनले सरकार ढाल्ने सवालमा आफूहरु शेरबहादुर देउवासँग सम्वादमा पनि नरहेको स्पष्ट पारे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कमजोरी छोप्नको लागि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालमाथि पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ छ भनेर स्टन्टबाजी गरेको आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले त काम गर्ने हो, कमरेड प्रचण्डले जस्तै काम गर्नुहोस, सुशासनको काम गर्नुहोस सबै तपाईंको पछि लाग्छन् । आर्थिक समृद्धिको काम गर्नुहोस, सबैले समर्थन गर्छन् । अरुलाई प्रश्न उठाएर चाहिने नचाहिने काम गरेर हुन्छ ? जनताले बुझिसकेका छन् ।’
उनले केपी ओली नै राजावादी भएको र जिन्दगीभर राजा बोकेर हिँडेको आरोप लगाएका हुन् । उनले भने,‘केपी ओली जिन्दगीभर राजावादी हुनुभयो, पछि बाध्यतावश गणतन्त्रवादी हुनुभयो । अहिले गणतन्त्रका लाभहरु लिइरहनुभएको छ । अनि हामीलाई दशौं हजार बलिदान गरेर राजतन्त्र फाल्नको लागि लडेको पार्टी र नेतालाई यो आरोप लगाउने भनेको त जनतामा विषयान्तर गर्नको लागि हो ।’




प्रतिक्रिया