प्रभु साहको प्रश्न : घोडगधा (निलगाई) नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई कसरी समृद्ध बनाउँछ ?


रौतहट, १० फागुन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई/मधेसमा आतंक मच्चाईरहेको घोडगधा नियन्त्रण अहिलेको सरकार पूर्णरुपमा असफल भईसकेको टिप्पणी गरेका छन् । रौतहटको राजपुर नगरपालिकामा आजपाद्धारा आज (शनिबार) आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले घोडगधा नियन्त्रण गर्न असफल भएको सरकारले विकास के गर्छ भन्ने प्रश्न तेर्साए ।

‘जंगलका घोडगधाले कृषकको बालीत था नाली नष्ट गरेको छ, धेरै दुःख दिईरहेको छ । तर, सरकार घोडगधा नियन्त्रण गर्न असफल भईसकेको छ’, आजपा अध्यक्ष साहले भने,‘सरकारले घोडगधा नियन्त्रण गरेर जंगलमै राखोस् । होईन भने त्यसलाई नियन्त्रण गर्ने अधिकार जनतालाई देओस् । कृषकको बालीनाली नष्ट गरिरहेकोछ, सरकारले ती कृषकलाई क्षतिपुर्ति दिनुपर्छ।’

घोडगधाले कृषकको बाली खाईदिने अनि नष्ट गरिदिएपछि रौतहट, बारा, सर्लाहीसहित मधेसका कृषकहरु पीडित छन् । सरकारलाई नियन्त्रणका लागि आग्रह गर्दासमेत कुनै सुनुवाई नहुँदा कृषक झनझन दुखित बनेको उल्लेख गर्दै पूर्वमन्त्री साहले घोडगधा नियन्त्रण गर्न आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीजीले समृद्ध नेपाल बनाउछौं, नागरिक, कृषक, श्रमजीवीको माग पुरा गर्छौ भन्ने गफ मात्रै दिएर हुदैन् । घोड़गधा नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई समृद्ध कसरी बनाउँछ ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे ।

यस्तै, उनले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीको सत्ताले धर्ममाथि टक्कर दिन खोजेको आरोप लगाउदै अब ओली सरकार ठक्कर खाने उदघोष समेत उनले गरे । देवताको भूमि रहेको मौलापुरको मधानी महोत्सव रोक्न खोजे जनस्तरबाटै विद्रोह हुने उनको चेतावनी छ।

‘मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुनेछन, यो देवताको भूमि हो । अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव, अनि नेपाल र भारतका लाखौं भक्तजनको आस्था जोडिएको यो महोत्सव रोकिए जनस्तरबाटै विद्रोह हुन्छ’, आजपा अध्यक्ष साहले भने, ‘प्रभु साह र यहाँकी मेयरले नेपाल भारत जोड्ने काम गरेको छ?’