काठमाडौं, ११ फागुन । अधिवक्ता स्वागत नेपालले अहिले देश नै राजासंस्थाको अभियानमा रहेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले स्वतन्त्र नागरिकहरुले अब राजालाई यो देशको प्रमुख नेताहरुको रुपमा राख्नेगरी अभियान सुरु गरिसकेको बताएका हुन् । अहिले दुर्गा प्रसाईँमात्रै नभएर सबै आन्दोलनमा रहेको र आन्दोलनको नेतृत्व पूर्वराजा ज्ञानेन्द्रबाट भइरहेको उनले बताए । उनले ज्ञानेन्द्रले जुम्लाबाट सबैलाई सहकार्यका लागि आह्वान गरिसकेको बताए ।
‘दुर्गा प्रसाईँमात्रै होईन, अहिले देशै अभियानमा छ । राजा जरुरी छ । अब आन्दोलको नेतृत्वकर्ता राजा हुन्छन् । नेताले के भन्छ भने मलाई साथ दिनुस् म अर्थोन्नति, राष्ट्रको उन्नतिका लागि अगाडि बढेँ भन्छ । अहिले हामी सबैको नेता भनेको राजा हो । जुम्लामा उहाँले अब हामी सहकार्यका लागि सबै अगाडि बढौं म सहयोगी भूमिका निर्वाह गर्छु भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यो अभिव्यक्तिलाई अनदेखा गरेर राप्रपाकै नेताहरुले संसद्मा आवाज उठाएनन् । अब आह्वान भएको छ, नेता उहाँ नै हो । कसैले नेता हुन्छु भनेर नसोचे हुन्छ । स्वतन्त्र नागरिकहरुले अब यो गर्छन्,’– उनले भने ।
साथै, फरक प्रसंगमा अधिवक्ता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेकोमा आफू एक सय प्रतिशत विश्वस्त रहेको बताए । उनले यस सन्दर्भमा प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनै नसकेको दाबी गरे । प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक नै रहेको आरोप लगाए । ‘कम्बोडिया त प्रमाणित छ । संसद्मा जवाफ दिन सक्नुभयो ? नचोरेको कुरा प्रमाणित गर्ने कि प्रमाण देखाउनेसँग अरु थप प्रमाण माग्ने ? आएको छ त मिडियामा सबै । मिडिया जहिले पनि अदालतको लागि प्रमाणको स्रोत हो । त्यो कागजपत्रमा उहाँको नाम छ । उहाँले पैसा जम्मा गरेको प्रमाण छ । कम्बोडियामा (केपी शर्मा ओलीको) एक सय प्रतिशत लगानी छ । उहाँले संसद्मा जवाफ दिनुपर्यो । आफ्ना कार्यकर्ता बोलाएर मेरो कम्बोडियामा लगानी छैन नि है भनेको भरमा हुन्छ । उहाँलाई पैसा नचाहिने भए महाकाली किन बेच्नुभयो ?’ प्रश्न गर्दै उनले भने । File Photo/RN




प्रतिक्रिया