काठमाडौं, १२ फागुन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाली कांग्रेसलाई क्लासिकल लिवरल्सको स्वरुपमा सिमित भएको पार्टीको संज्ञा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष महतोले कांग्रेसलाई दक्षिणपन्थी ध्रुवमा खुम्चिएको शक्ति भनेर औंल्याएका छन् ।
महतोको प्रतिवेदनमा कांग्रेसबारे भनिएको छ,‘नेपाली कांग्रेस हाल क्लासिकल लिवरल्सको स्वरुपमा सिमित छ, जसले न बहुसांस्कृतिक सुधारको पक्षपोषण गर्छ, न त सामाजिक न्यायको परिप्रेक्ष्यलाई स्विकार्छ । यसले अझै पनि एकल सांस्कृतिक राष्ट्र–राज्यको अवधारणा अंगालेर आफ्नो वर्णीय–वर्गीय स्वार्थ सुरक्षित राख्न चाहन्छ।’
उनले नेपाली कांग्रेस राजनीतिक रुपमा अनुदार कन्जरभेटिभ दृष्टिकोण अंगाल्दै लोकतन्त्रलाई केवल औपचारिक र सिमित दायरामा सिमित गराउने दल भएको चित्रण गरेका छन् । उनले कांग्रेस २१औं शताब्दीको राष्ट्रिय मुक्तिको प्राथमिक विपक्षी शक्ति भएको निश्कर्ष निकालेका छन् । र, कांग्रेसलाई सोहीअनुसार व्यवहार गरिनुपर्ने उनको निचोड छ ।




प्रतिक्रिया