ओली सरकार धेरै टिक्दैन, शेखर कोइराला चाहेकै दिन प्रधानमन्त्री बन्नुहुन्छ : पूर्वमन्त्री पासवान


काठमाडौं, १२ फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले कांग्रेस–एमाले नेतृत्वको अहिलेको सरकार धेरै नटिक्ने दाबी गरेका छन् । उनले अहिलेको सरकार कति दिन टिक्ने भन्ने कुरा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको हातमा रहेको टिप्पणी गरेका छन् ।

लामो समय नयाँ दिल्लीमा उपचार गरेर पूर्ण स्वास्थ्यलाभ गरि स्वदेश फर्किएका अध्यक्ष पासवानले अहिलेको सरकार लामो नजाने दाबी गरेका हुन् । उनले शेखर कोइरालाले आँटेकै दिन प्रधानमन्त्री बन्ने पनि बताए ।

उनले अहिलेको सरकार सबै मोर्चामा असफल भएको पनि दाबी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको दिनदेखि नै जनतामा चरम निराशा छाएको र जनआक्रोश विस्फोटनको अवस्थामा रहेको उनको टिप्पणी छ । file photo