प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलगायत पाँचै जनालाई धरौटीमा छाड्ने आदेश


काठमाडौं, १२ फागुन । काठमाडौं जिल्ला अदालतले ठमेलमा प्रहरी कुट्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो प्रकरणमा पक्राउ परेका पाँचै जना विद्यार्थी नेताहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

पक्राउ परेका रमेश फुलारालाई १५ हजार र कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार धरौटीमा छाड्न आदेश भएको छ । जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष हुन् ।

उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेका थिए । मध्यरातमा मदिराले लठ्ठिएर होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको बताईएको छ ।

अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो । घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको थियो ।