उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्ने प्रचण्डको प्रतिवद्धता


काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व माओवादीले गर्ने बताएका हुन् ।

विगतमा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनविरुद्ध जनयुद्ध भएको उनले स्मरण गराए । जनताले प्राप्त अधिकार प्रयोग गर्न नपाएको, बरु विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले जनतासँग माओवादी अभियान जनतासँगको अन्तरसंवादको अभियान रहेको बताए । उनले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने बताए ।

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कानुनी रुपमा हजारौं नागरिकताविहीन नेपालीहरुले नागरिकता पाउने बाटो खुले पनि केही व्यवहारिक समस्या देखिएकाले समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, मलबीउको समस्या, जंगली जनावरले पुर्याउने क्षति, नदी कटानको समस्या, सीमा क्षेत्रको शान्ति सुरक्षाको चुनौती, सर्पदंश उपचारको अभाव जस्ता समस्या बढी देखिएकाले यी समस्याको योजनाबद्व समाधानका लागि माओवादी लागिपर्ने उनको प्रतिवद्धता रहेको छ ।