कुलमानको कार्यकालमा विद्युत प्राधिकरणभित्र अनियमितताहरुको चाङ सगरमाथाभन्दा अग्लो छः पूर्वकार्यकारी निर्देशक काफ्ले


काठमाडौं, १४ फागुन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणभित्र अनियमितताको चाङ सगरमाथाभन्दा अग्लो रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणमा निकै ठूलो अनियमितता रहेको र कुलमान पनि छटपटाहटमा रहेको बताएका हुन् । पूर्वकार्यकारी निर्देशक काफ्लेले लोडसेडिङ हट्यो भनेर ८ वर्ष पहिला प्रचार गरिएपनि अहिलेसम्म लोडसेडिङ कायमै रहेको र उद्योगधन्दाहरु लोडसेडिङको मारमै रहेको बताए ।

‘यो ८ वर्षभित्रमा विद्युत प्राधिकरणभित्र भएका अनियमितताहरुको चाङ सगरमाथाभन्दा अग्लो छ । अब तिनीहरु विस्तारै डिक्लासिफाई हुने समय आएको छ । त्यसको छटपटाहट पनि म उहाँमा देख्छु । उर्जा क्षेत्रमा निष्पक्ष मूल्याङ्कन गर्ने हो भने त बढी प्रचारात्मक भयो, बास्तविक रुपमा जे विकास हुनुपर्ने, लोडसेडिङ हट्यो भनेर ८ वर्ष पहिला प्रचार गरिएपनि वास्तविक रुपमा लोडसेडिङ हटेको छैन,’– काफ्लेले भने ।

साथै, सरकारले कुलमानलाई हटाउने गरी कदम चालेको उनले बताए । कुलमानलाई स्पष्टीकरण सोध्दा सरकारले निकै गम्भीर प्रकृतिका विषयहरुको उठान गरेको उनको भनाइ छ । उनले भने, ‘सरकार अगाडि बढ्न खोजेको देखिन्छ । तपाईँलाई किन पदबाट नहटाउने भनेर २४ घण्टाभित्र जवाफ पेश गर्नु र अघिल्लो पटकको स्पष्टीकरणमा कार्यकारी निर्देशकले पेश गरेको जवाफ चित्तबुझ्दो भएन भनेर भन्नुको पछाडि सरकारले कार्यकारी निर्देशकलाई पदबाट हटाउन खोजेको देखिन्छ ।’