काठमाडौं, १४ फागुन । निर्वाचन आयोगमा गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरुले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । आयोगमा कूल ११५ दल दर्ता भएपनि ८८ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका हुन् । दलहरुले आयोगमा बुझाएको विवरणअनुसार सबैभन्दा धनी दल नेकपा (एमाले) देखिएको छ । एमालेले आ.ब. २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ भने खर्च ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ रहेको छ । एमालेको आम्दानीको मुख्य श्रोत सदस्यता शुल्क देखिएको छ । सदस्यता शुल्कवापत एमालेले ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, सबैभन्दा पुरानो र संसद्मा पनि सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेस भने घाटामा देखिन्छ । कांग्रेसले गत आर्थिक वर्षमा २ करोड ५९ लाख ८ हजार ७ सय ७५ रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा कांग्रेसको खर्च भने ४ करोड ९१ लाख ५६ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । कांग्रेसको आम्दानीको मुख्य स्रोत भने चन्दा देखिएको छ । यो अवधिमा चन्दावापत मात्रै कांग्रेसले १ करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) को आम्दानीभन्दा खर्च धेरै देखिएको छ । सो अवधिमा १ करोड ८६ लाख ५२ हजार आम्दानी भएको छ भने सो अवधिको खर्च २ करोड २० लाख ७९ हजार रहेको छ । माओवादीको आम्दानीको मुख्य स्रोत सदस्यता, लेबी र नवीकरण शूल्क रहेको छ । यो अवधिमा सदस्यता, लेबी र नवीकरणमा माओवादीले १ करोड ८३ लाख ३९ हजार आम्दानी गरेको छ ।
त्यस्तै, संसद्को चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने दोब्बर घाटामा देखिएको छ । रास्वपाले आ.ब. २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेकोमा खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रहेको छ ।




प्रतिक्रिया