कांग्रेस-एमाले गठबन्धन सरकारले संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको छः प्रचण्ड


काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन वर्तमान सरकारले रोकिरहेको बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगञ्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार समस्या समाधान गर्नेतर्फ केन्द्रीत नरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको बताए । त्यस्तै, समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्यान, नागरिकताबिहीन नागरिकलाई नागरिकता दिन, मिटरब्याज पीडितको समस्या समधान गर्ने वर्तमान सरकार गम्भीर नदेखिएको उनको भनाइ छ । उनले आफू नेतृत्वको सरकारले यी विषयमा सुधारको काम गरेको कानुन अभाव रहेको अवस्थामा कानुनसमेत बनाएको बताए । आफू नेतृत्वको सरकारले धेरै सुधारात्मक कार्य गरेकोमा त्यसलाई रोकेर वर्तमान सरकार भ्रष्ट, माफिया र विचौलियाको पक्षमा काम गर्न तल्लिन रहेको उनको आरोप छ ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो संभव नभएको बताए । तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरुका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको बताए । देबानगञ्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै यनका जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्यांकन हुने बताए । मधेसको ठूलो सम्भावना कृषिमा रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए ।

अध्यक्ष प्रचण्डले उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको अवस्था रुपान्तरणका लागि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर अवस्थाको प्रत्यक्ष अवलोकन गर्न नै आफूहरु अभियानमा आएको र यहाँबाट फर्केपछि थप कार्यक्रम तय गर्ने बताए ।