काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज भूमिसम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, डा.उमाशंकर प्रसादलगायतले सम्बोधन गर्ने बताइएको छ ।
जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफलसमेत हुने बताइएको छ । अध्यादेशबारे धारणा बनाउन जसपा नेपालले यसअघि उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल अध्ययन समिति नै बनाएको थियो । समितिले दिएको सुझावको आधारमा जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा जसपा नेपालले आज पुनः अन्तरक्रिया राख्नुलाई विशेष रुपमा हेरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भूमिसम्बन्धी अध्यादेशको बारेमा निरन्तर संवाद जारी रहेको छ । प्रधानमन्त्री ओलीले उपेन्द्रलाई सरकारमा आउन आग्रह गरिरहेको र मधेश प्रदेशको मुख्यमन्त्रीबारे पनि सोच्न सकिने जवाफ दिएको बताइएको छ ।




प्रतिक्रिया