काठमाडौं, १६ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ताप्लेजुङको पाथीभरामा केबलकार बनाएरै छाड्ने बताएका छन् । हिजो (बिहीबार) ‘कोशी विचार उत्सव’ अन्तरक्रिया कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको संविधान र कानुनले अख्तियार गरेको बाटो अवलम्बन गरेर पाथीभरामा केबलकार बनाउने बताएका हुन् । ‘मजाले बन्छ । नेपालको संविधान र कानुनले जे बाटो अख्तियार गर्छ, त्यो बाटोको माध्यमबाट जान्छ,’– उनले भने ।
प्रदेश सरकारले ‘नो केबलकार’ पक्षधरसँग वार्ता गरेर समाधान निकाल्न खोजेपनि उनीहरु वार्ताको टेबलमा बस्नै नचाहेको उनको आरोप छ । मुख्यमन्त्री कार्कीले ‘नो केबलकार’ भन्नेहरु बाहिरबाट परिचालित भएको हुनसक्ने आशंका व्यक्त गरे । ‘नो केबलकार’ आन्दोलनका क्रममा १५ जना पक्राउ परेकोमा ताप्लेजुङको १ जनामात्रै रहेको उनको भनाइ छ । ‘केबलकार बनाउन हुँदैन भन्ने विरोधको पक्षमा रहनुभएका साथीहरु हामी सरकारसित वार्ता गर्दैनौं भन्नुहुन्छ,’– उनले भने, ‘अहिले १५ जना मान्छे पक्राउ पर्नु भएको छ, त्यो जिल्लाको मान्छे एक जनामात्रै हुनुहुन्छ, नो केबलकार भन्ने । अरु सबै बाहिरको हुनुहुन्छ ।’




प्रतिक्रिया