माओवादीले चाहेको भए यो सरकार अस्तिनै सिध्याइदिन्थ्यौंः सूर्यमान दोङ (भिडिओसहित)


काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले आफूहरुले वर्तमान सरकार ढाल्न नचाहेको बताएका छन् । बिहीबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले सरकार ढाल्न नचाहेकै कारण वर्तमान सरकार टिकिरहेको बताएका हुन् । उनले सरकार ढाल्न सहयोग गर्नुपर्यो भनेर विभिन्न दलका नेताहरुले माओवादीसँग सहयोग माग्ने गरेको पनि बताए ।

माओवादीले भने आगामी २०८४ को निर्वाचनसम्म वर्तमान सरकार टिकोस् भन्ने चाहिरहेको उनले बताए । ‘हामीले सरकार ढाल्न चाहेको भए अस्तिनै सिध्याइदिन्थ्यौं । हामीकहाँ कतिचोटी मान्छेहरु गुहारेर बसिराखेका छन्,’– उनले भने ।

तर, वर्तमान सरकारको गतिविधिले यसको आयु लामो छैन भन्ने कुरा देखाइरहेको उनले बताए । लोकतन्त्र पछाडि विकास भएका राजनीतिक दलहरु सबैलाई निमिट्यान्न पारेर दुई दलीय परिवेशमा जानको निम्ति वर्तमान सरकारले जोडबल गरिरहेको उनको आरोप छ ।