रास्वपाको जोड प्रधानमन्त्री ओलीमाथि हमला गर्नेछः एमाले नेता थापा


काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुको जोड प्रधानमन्त्री केपी शर्मा ओलीलाई हमला गर्ने र उनीविरुद्ध बोल्ने रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सांसदहरु विषयवस्तुभन्दा बाहिर गएर बोलिरहेको बताएका हुन् । रास्वपाका सांसदहरुले प्रतिनिधि सभामा पनि विषयवस्तुभन्दा बाहिर गएर कुराहरु गर्ने गरेको उनको टिप्पणी छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक स्वरमा जोड प्रधानमन्त्री केपी शर्मा ओलीमाथि हमला गर्ने, उहाँको विरुद्धमा बोल्ने, जे कुरा पनि प्रधानमन्त्रीसँग जोड्ने । मानौं, भन्सार विधेयक चलिहरको छ, त्यो विधेयकको सन्दर्भमा डिफेन्स गर्न अर्थमन्त्रीको प्रतिनिधिको रुपमा राजश्व सचिव र अर्थ, कानुन मन्त्रालयका अधिकारीहरु आउनु भएको छ । संशोधन दर्ता गराएका रास्वपाका माननिय आउनुहुन्छ र प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्नुभएन भन्दै विषयभन्दा बाहिरको कुरा गरेर हिँड्नुहुन्छ । उहाँको संशोधन कहाँ छ, के छ ?’– प्रश्न गर्दै उनले भने ।

साथै, फरक प्रसंगमा उनले सरकारले सामाजिक सञ्चाल नियन्त्रण गर्न खोज्यो भनेर गलत प्रचार भइरहेको बताए ।