काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले पार्टीले भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा कुनैपनि रिथिङ्क नगर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको बताएका हुन् । उनले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिइएन भने अरु ५ वटा अध्यादेशमा पनि जसपा नेपालको सहयोग नपाइने उनको चेतावनी छ ।
‘सरकारले छ वटा अध्यादेश ल्यायो । त्यो छ वटा अध्यादेशलाई पार्टीले कार्यदल बनाएरै छलफल गर्दै सम्पन्न गरेको निष्कर्ष के हो भने बाँकी ५ वटा अध्यादेश संशोधन गरेर स्वीकार्न पनि सकिन्छ । त्यसमा मतदान गर्न सकिन्छ । भूमिसम्बन्धी अध्यादेश किमार्थ समर्थन गर्न सकिँदैन,’– उनले भने, ‘रिथिङ्क होईन, भूमिसम्बन्धी अध्यादेश सरकारलाई फिर्ता लिनका लागि आग्रह गरेका छौं । फिर्ता लिन अटेर गर्नुभयो भने बाँकी ५ वटामा पनि जसपा नेपालको समर्थन रहने छैन ।’
भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालको कुनै स्वमित्व नै नरहेको उनले बताए । उक्त अध्यादेश भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा नरहेको उनले बताए । यो अध्यादेशले आगमी दिनमा देशलाई नै बर्वाद बनाउने उनको दाबी छ । नेता सुमनले कार्यकर्तालाई जग्गा बाँड्न यो अध्यादेश ल्याइएको आरोप लगाए ।




प्रतिक्रिया