काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि सुशासन तथा जनताको सामाजिक र आर्थिक अधिकारको प्रयोग आवश्यक पर्ने औंल्याएका छन् । तर, यी कुनै पनि अधिकारको दुरुपयोग हुन नहुने उनको भनाई छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको हिजो (बिहीबार) होटल लेमन–ट्रीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका थिए,‘अहिले विकास भएको छ तर अहिले भएको विकासमा हामी सन्तुष्ट छैनौँ । कुनै पनि बेथितिबाट हामी सुशासन र समृद्धि प्राप्त गर्न सक्दैनौँ । जनतालाई हरेक हिसाबले जैविक र आधारभूत अधिकार सम्पन्न बनाउन हामी अझ अगाडि बढ्न चाहन्छौँ । हामी पूर्ण लोकतन्त्र चाहन्छौँ । हाम्रा सबै सामाजिक प्रबन्धहरूले मानवीय सुख र सहज आपूर्तिको परिपाटी बसाउनुपर्छ । देशलाई पछौटेपनबाट अगाडि बनाउने प्रयासलाई हामी सफल बनाएर छाड्ने छौँ ।’
सो क्रममा उनले सामाजिक मर्यादाहरू ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरू नियन्त्रण गरिने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याइएको स्पष्ट पारेका थिए ।




प्रतिक्रिया