नेपालको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने हो भने सबैभन्दा पहिला राजनीतिक शक्तिबीच विश्वासको वातावरण बन्नुपर्छः राप्रपा नेता लोहनी


काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको असफल वार्ताबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ट्रम्प र जेलेन्स्कीबीचको वार्ताले ठूलो देशको शैले प्रष्ट पारेको बताए । उनले नेपालको परिपेक्ष्यमा देशको स्वतन्त्रता र सार्वभौमिकतालाई आफ्नो हातभित्र राख्नको लागि सबैभन्दा पहिला यहाँका राजनीतिक शक्तिहरुबीच विश्वासको वातावरण बन्नुपर्ने बताए ।

‘हाम्रो देश नेपालले शिक्षा लिनुपर्ने कुरा के हो भने यो जुन किसिमको तनाब बढ्दै गएको छ । त्यसले एउटा ठूलो देशको शैली त आयो नि । मैले भनेको जसरी गर्ने भए गर्, नत्र तपाई कि छोड्दिन्छु, कि ठेगान लगाउँछु भन्ने खालको । अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मूल्य मान्यताभित्र बसेर व्यवहार गर्ने भन्ने जुन दोस्रो विश्वयुद्ध पछिको परम्परा थियो, त्यो टुट्दै जान थाल्यो । बलियो राष्ट्रले कमजोर राष्ट्रलाई दवाब दिने परम्परा बढेर जान्छ ।’ उनले भने, ‘नेपालको परिप्रेक्ष्यमा हामी सानो राष्ट्र छौं । दुई वटा ठूलो–ठूलो राष्ट्रको बीचमा भएको हुनाले एउटाले मात्रै दवाब दिएर त अर्कोलाई स्वीकार्य हुँदैन होला । तर, दवाब दिने प्रवृत्ति बढेर जान्छ अब । हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकतालाई आफ्नो हातभित्र राख्ने हो भने सबैभन्दा पहिला नेपालका राजनीतिक शक्तिहरुले एकले अर्कोलाई अविश्वास गर्ने होईन । राजनीतिक रुपमा हामी सबै शक्तिहरु एक हुनुपर्छ । नेपालका नेताहरुले यो विचार गर्नुपर्यो ।’

साथै, नेपाल बलियो भएर बस्नका लागि शासकहरुले जनताको पक्षमा काम गर्न सक्नुपर्ने र डेलिभरी दिनुपर्ने उनको भनाइ छ । जनतामा यो सिस्टमले केही दिनसक्छ, भोलिको लागि आशा छ भन्ने भावना जागृत गराएर काम गर्नुपर्ने उनको सुझाव छ ।