कान्छारामले ‘मलाई प्रचण्डले टिकट दिएको’ भनेपछि रामेछाप कांग्रेसमा खैलाबैला, देउवालाई गराइयो जानकारी


काठमाडौं, १८ फागुन । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीहरुबीच मनमुटाव बढ्दै गएको छ । उर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै पार्टीको विधिविधान र पद्दतीको बेवास्ता गर्दै स्वेच्छाचारी ढंगबाट अगाडि बढेको आरोप लागेको छ । रामेछाप कांग्रेसका उपसभापति नवराज थोकर, सचिव विनोद कार्की, सहसचिव कमल योञ्जनले कान्छारामले शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्वलाई ख्याल नगरी पार्टीमा निरन्तर क्रियाशील इमान्दार कार्यकर्तालाई बेवास्ता गर्ने, निष्ठावान र योग्य नेता तथा कार्यकर्ताहरुमाथि गालीगलौज गरी अवमुल्यन गर्ने, केही आसेपासेको सल्लाहमा एकलौटी ढंगबाट राजनीतिक नियुक्ती र मनोनित गर्ने गरेको आरोप लगाएका छन् ।

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय, महामन्त्रीद्वय, नेता शेखर कोइरालालगायतका नेताहरुलाई बोधार्थ (जानकारी) गराई पार्टी केन्द्रीय कार्यालय सानेपामा ध्यानाकार्षण पत्र बुझाएका छन् । कान्छारामको कार्यशैलीले संगठनलाई गतिशील र प्रभावकारी बनाउन पार्टीभित्र रगत र पसिना बगाएका, लोकतान्त्रिक ब्यवस्था स्थापनार्थ आन्दोलनमा होमिएका कार्यकर्ताहरुको भूमिका कमाजोर बनाएको उनीहरुको आरोप छ । गत पुष २७ गते कांग्रेसको एक सय दिने अभियानको क्रममा केन्द्रीय प्रतिनिधि मदन बहादुर अमात्यको प्रमुख आतितथ्यमा भएको जिल्ला कार्यसमितिको बैठकबाट निर्वाचित सदस्यहरुलाई हटाउने निर्णय भएको समेत उनीहरुले ध्यानाकार्षण पत्रमा उल्लेख गरेका छन् । पत्रअनुसार १४औं जिल्ला अधिवेशनमा मतदान प्रक्रियामार्फत जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भई हाल केही समय अगाडि वैदेशिक रोजगारीमा गएका जिल्ला कार्य समितिका सदस्यहरु मन्दिरा घिमिरे, शुशिला बुढाथोकी, अन्जु रजान मगर र सम्झना घिसिङलाई हटाउने प्रस्ताव कान्छारामले राखेका थिए । सो प्रस्ताव केन्द्रीय प्रतिनिधि अमात्यले समेत अस्वीकार गरी निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको बताइएको छ ।

‘उक्त निर्णयप्रति हामी असहमत छौं नोट अफ डिसेन्ट (फरक मत) लेख्छौं’ भन्दा लेख्न नदिएपछि आफूहरु बाध्य भएर बैठकबाट बाहिरिनुपरेको नेतात्रयहरुले ध्यानाकार्षण पत्रमा उल्लेख गरेका छन् । पार्टी मातहतका विभिन्न तहगत संरचना नेतृत्व तथा अन्य पदमा विविध कारणले रिक्त भएका स्थानमा सभापतिले विधान, नियमावली र केन्द्रीय परिपत्रको मर्म र भावना विपरीत आफूखुसी नियुक्ति गरेको भन्दै उनीको आपत्ति रहेको छ ।

त्यस्तै, कांग्रेसको मूल्य मान्यता र परम्परालाई वेवास्ता गर्दै पार्टी तथा भातृसंस्थाको कार्यक्रममा जिल्ला सभापतिको उपस्थितिमा उपसभापति लेखबहादुर कार्कीलाई कार्यबाहक सभापतिको रूपमा आशन ग्रहण गर्न लगाउने जस्ता गलत नजीर स्थापना खोजिएको पनि उनीहरुको आरोप छ । जिल्ला सभापति कान्छारामले ‘मलाई संघीय सांसदको टिकट पार्टी सभापति शेरबहादुर देउवाले दिएको होइन । नेकापा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दिएको’ भनी पार्टीको बदनाम गरेको समेत उनीहरुको आरोप छ ।

ध्यानकार्षण पत्रमा उल्लेख भएअनुसार कान्छारामले निर्माण व्यवसायी संघ रामेछापको कार्यक्रममा ‘म कांग्रेस नभई ठेकेदार हुँ । त्यसैले आगामी निर्वाचनमा कुनै ठेकेदारले टिकट पाए पार्टी नहेरी जुनसुकै पार्टीको ठेकेदार भएपनि सहयोग गर्छु’ भन्ने अभिव्यक्तिसमेत दिएका थिए ।

त्यस्तै, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रामेछापको जिल्ला अधिवेशनमा कान्छारामले बागमती प्रदेश कार्यसमितिका सदस्य जीतबहादुर मगरलगायत जिल्लाका नेताहरुलाई छानीछानी कुटपिट गर्न लगाएको, आफूहरुलाई उल्टै ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापमा मुद्धा हालेर दुःख दिएको उनीहरुले बताएका छन् ।

रामेछाप कांग्रेसका नेतात्रयले कान्छारामको कार्यशैली र विधान विपरितका गतिविधिहरु अन्त्य गरी समन्वयात्मक ढंगबाट अगाडि बढ्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् । कान्छारामको स्वेच्छाचारी गतिविधिहरु नरोकिए आन्दोलन गर्ने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकार्षण गराएका छन् । कांग्रेस केन्द्रीय कार्यलय सानेपामा अनशन बस्नेतसमेतको उनीहरुको चेतावनी छ ।