काठमाडौं, १९ फागुन । मानवअधिकारकर्मी कृष्ण पहाडीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नो राजनीतिक भविष्य जोगाउने नाममा चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा जुवा खेलेको टिप्पणी गरेका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईबाट त्रसित हुनुपर्ने अवस्था सिर्जना हुने बताएका हुन् ।
बीआरआईको ऋण तिर्न नसकेकै कारण विभिन्न देशले आफ्नो भूभाग गुमाएको प्रसँग सुनाउँदै उनले भने, ‘शेरबहादुर देउवा र खड्ग प्रसाद ओलीको राजनीतिक भविष्य जोगाउने नाममा उहाँहरुले बीआरआईको नाममा जुवा खेल्नुभयो । त्यसबाट म त त्रसित छु । कुन उपद्रो हुने हो ठेगान छैन ।’
ऋण काढेर भएपनि घिउ खानुपर्छ भन्ने नेपालका नेताहरुको चरित्रका कारण बीआरआईको ऋण लिइएको उनको भनाइ छ । उनले नेपालको भविष्यलाई नै केही नेताहरुले दाउमा लगाउन खोजेको दाबी गरे । चाइनाले बीआरआईको ऋणकै कारण बिस्तारै–बिस्तारै नेपाललाई दास बनाउन सक्ने उनको चेतावनी छ ।
उनले भने, ‘चाइनिजहरुले ऋण खुवाएर विस्तारै–विस्तारै दास बनाउने अथवा रसुवाको नाका (केरुङ) लिजमा लिने । ऋण खाएपछि लिनेको हात तल हुन्छ । बीआरआईमा हस्ताक्षर गरिसकेपछि जुन हिसाबले इन्डिया रिसाएको छ, त्यो यहाँका नेता र कार्यकर्ताले बुझेकै छैनन् । उनीहरुले केपी शर्मा ओलीको राजनीति जोगाउनको लागि । बीआरआईको पछाडि चीनको सामरिक स्वार्थ छ । एमसीसीको पछाडि पनि अमेरिकाको सामरिक स्वार्थ थियो । अमेरिका र इन्डियाको दवाबमात्रै होईन । अब उपद्रोलाई थेग्न सक्छ त नेपालले ?’




प्रतिक्रिया