काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले माओवादी सशस्त्र विद्रोहमा कांग्रेस, एमाले र तत्कालीन राजाको सहकार्यमा १७ हजार जनता मारिएको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै बिडारीले उनीहरुले माओवादीको नाममा जनता मारेको आरोप लगाएका हुन् । माओवादीले तत्कालीन व्यवस्थाको विरोध गर्दा उनीहरुले जनता मारेको उनको दाबी छ ।
‘१७ हजार मान्छे त यिनीहरुले मारेका हुन् ति । माओवादीले आन्दोलन गर्दा यिनीहरुले मारेका गोली ठोकेर । प्रचण्डले ५ हजारको जिम्मा लिएको होईन । ल भाग लगाउने त ? मैले ५ हजार गरेँ होला । तिमीहरुले कति गरेको भनेको हो उहाँले । भावावेशमा आएर । त्यो व्यवस्थाको विरोध गर्दा गोली ठोकेर मारेको होईन कांग्रेस, एमाले र राजाले ? यी तीनथरी मिलेर मारेका, यिनीहरुले १७ हजार मान्छे माओवादीको नाममा मारे,’– उनले भने ।
साथै, उनले कांग्रेस र एमालेलाई २०४७ सालको संविधानको हिमायतीको संज्ञा दिए । अब त्यो ०४७ सालको संविधानको हिमायतीको विरुद्धमा मोर्चा बनाउनुपर्ने उनको सुझाव छ । नेता बिडारीले वर्तमान संविधान एकदमै ठीक रहेको दाबी गरे । तर, नयाँ दलहरु पनि पुरानै दलको मतियार बनेर आउने थालेको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुरानै दलको मतियार रहेको उनको दाबी छ । नेता बिडारीले कांग्रेस–एमालेलाई बदमासको संज्ञा दिए ।
कांग्रेस–एमालेसहितको वर्तमान सरकारले पनि तलबभत्ता खाने भन्दा अर्को कुनै काम गर्न नसकेको उनको आरोप छ । उनीहरुले राष्ट्रलाई ऋण थुपार्नेबाहेक अर्को काम गर्न नसकेको नेता बिडारीको आरोप छ ।




प्रतिक्रिया