आर्थिक हिनामिना तथा ठगी गरेको आरोपमा जनमतले आफ्नै कोषाध्यक्ष यादवलाई गर्यो निलम्बन, यस्तो छ ४ बुँदे स्पष्टीकरण


काठमाडौं, २४ फागुन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्र नारायण यादव (सप्तरी) लाई आर्थिक हिनामिना तथा ठगी गरेको आरोपमा स्पष्टीकरण सोधेको छ । यादवमाथि पार्टीको केन्द्रीय अनुशासन समितिकी सदस्य सचिव अनिता कुमारी मण्डलले यही फागुन २१ गते नै विभिन्न आरोप लागेको भन्दै ४ बुँदे स्पष्टीकरण सोधेकी थिईन् ।

यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको बरु नियमित पार्टी जीवनको काम छोडेर अमेरिका, कतार र अन्य देशको सयर गर्ने गरेको आरोप लगार्ईको छ । यादवले पार्टीका महत्वपूर्ण बैठकमा समेत भाग लिन छोडेको पार्टीले जनाएको छ । सोधिएको स्पष्टीकरणको पहिलो बुँदामा नै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौंसम्म अनुपस्थित् भएको जनाईएको छ ।

हिसाब माग्दा पार्टीको हिसाब नदिने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको पनि यादवमाथि पार्टीको गम्भीर आरोप थियो । उनीमाथि ०७९ को निर्वाचनमा नै पार्टीका अध्यक्ष डा. सिके राउतलाई हराउने उद्देश्यले भूमिका खेलेको गम्भीर आरोप छ । उनीमाथि पार्टीभित्र गुटबन्दी गरेको र पार्टी विभाजनको लागि प्रयत्न गरेको अर्को गम्भी आरोप लागेको विषयमा पनि स्पष्टीकरण सोधिएको छ ।

उनीमाथि पार्टीले लगानी शेयर तथा लेबीको नाममा करोडौं रकम उठाई काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटल चलाएको र जनकपुरमा घर तथा स्कूल चलाउनेसहित विभिन्न कारोबार गरेको आरोपको विषयमा पनि स्पष्टीकरण सोधिएको छ। यादवले पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपाधारा १, २, ३, ४, ५, ६, ८, १०, १३, १४ उल्लंघन गरेकोले किन कारबाही गर्न नपर्ने हो भनेर ७ दिनको समय दिएर स्पष्टीकरण सोधिएको हो । यो कारबाही प्रक्रियाभर उनलाई कोषाध्यक्षको जिम्मेवारीबाट अलग गराईएको पनि पार्टीले जनाएको छ ।