राजावादीहरुलाई सुजाता कोइरालाको सुझाव : अहिले राजा आउन सक्दैन, यसमा लाग्नुभन्दापनि विकासमा लाग्नुहोस


काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालमा राजनीतिक अस्थिरता नै विकासको मूल बाधक भएको टिप्पणी गरेकी छिन् ।

राजावादीहरुको ‘राजा चाहियो’ भन्ने आन्दोलनलाई कसरी हेर्नुहुन्छ भनेर प्राइम टिभीका पत्रकार कृष्ण मल्लले सोधेको प्रश्नमा नेतृ कोइरालाले भनिन्–‘यो त अब यही हो हामी नेपालीहरुको, नेताहरुको तालामाला भने यो एउटाले राजा फ्याँक्छ, अर्कोले राजा ल्याउँछ, फेरि अर्कोले राजा फ्याँक्छ अनि अर्कोले ल्याउँछ, यो भैरहन्छ । नेपाल कहिल्यै विकास गर्दैन । अब अस्थिरता समाप्त गर्नुपर्छ । मैले सुरुदेखि नै भनेको छु कि राजालाई ल्याउने अवस्था छैन् । राजा आउन सक्दैन । धेरै गाह«ो छ । यसमा लाग्नुभन्दापनि बरू विकासमा लाग्नुहोस भनेको छु । देश बनाउनेतिर लागौं भनेको छु ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व नभनी राजाकै सम्बोधन गरेर विकासको लागि लाग्न सुझाव दिएकी छिन् । ज्ञानेन्द्रपनि विकासको लागि लाग्दा एकदमै राम्रो हुने उनको तर्क छ । यद्धपी उनले पूर्वराजा शाहलाई एउटा सानो स्पेस दिँदो केही पनि नबिग्रिने धारणा राखिन् । तर, अहिले त्यो पनि सम्भव नभएको उनको तर्क छ ।

उनले अहिलेकै व्यवस्थालाई बलियो बनाउनुको विकल्प नभएको जिकिर गरेकी छिन् । त्यसको लागि नेताहरु सुध्रिनुपर्ने र देश बनाउनको लागि लाग्नुपर्ने उनको तर्क छ । उनले अहिले भारतलाई नेपालको झिनामसिना कुरामा लाग्ने फुर्सद नै नभएको टिप्पणी गरिन् । नेपाल आफ्नै खुट्टामा उभिनुपर्ने भन्दै चीन आफ्नो खुट्टामा उभिएकै कारण त्यहाँ विकास भएको उनको दाबी छ ।