सुनसरी, २५ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गरेका छन् । उनले बगेको खोला फर्कनु र मरेको मान्छे जिउँदो हुनु दुवै असम्भव भएको भन्दै नेपालमा अब राजतन्त्रपनि फर्किने सम्भावना नरहेको दाबी पेश गरेका हुन् ।
सुनसरीको इटहरीमा आज (आइतबार) युवाहरुसंगको एक अन्तरक्रियालाई सम्बोधन गर्दै किरातीले दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएपछि नै नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएको स्मरणगराएका छन् । उनले आफूले ज्ञानेन्द्र शाहलाई राजा वा पूर्वराजा नभनी सिधै ज्ञानेन्द्र शाहमात्रै भन्ने टिप्पणी पनि गरे ।
किरातीले भने-“कोही राजा भन्छन् । कोही पूर्व राजा भन्छन्। तर म चाहीँ उनी ज्ञानेन्द्र शाह हो भन्छु । राजा भनेको त वंशणुगत राजाको छोरा राजा हुने परम्परा छ । नारायणीहिटी हत्याकाण्ड संगै वीरेन्द्रको वंशनाश पछि नेपालमा राजतन्त्र औपचारिक रुपले समाप्त भएको हो । त्यो बेला ज्ञानेन्द्र सिंहसानमा बस्नु पाएको नै तत्कालिन राजनीतिक दलहरुको हुतिहारा प्रवृतिले हो । आज जे हुँदैछ, यो प्रायोजित ढंगले मञ्चन गरिएको नाटक हो। न बगेको खोला फर्किन्छ । न मरेको हजुरबुवा जिउँदो हुन्छन्। राजतन्त्र फर्किनु सम्भव छैन । फेरि कथित पूर्वराजा ज्ञानेन्द्र र युवराज पारश शाहको देश तथा विदेशमा खराव छायाँ छ । वीरेन्द्रसम्म भएको भए के हो भन्ने हुन्थ्यो ।”
उनले गणतन्त्रवादीहरुको कारण नै अहिलेको अवस्था आएको संकेत गरे । उनले गणतन्त्रवादीहरुले गहिरो समिक्षा गर्नुपर्ने आवश्यकत्ता औंल्याए । सत्तामा बसेर परीणाम दिन नसक्दा अनि नातावाद, कृपावाद र फरियावादमा फस्दा गणतन्त्रको जरा जमिनमा फैलिन नसकेको किरातीको गम्भीर टिप्पणी छ । उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको र हुनै नसक्ने ठोकुवा गरे । उनले अघि भने-“फोहोरलाई सफा गरौं, जनताको सक्षम छोराछोरीहरु भोलि आउनेछन अनि देश बनाउने छन ।”




प्रतिक्रिया