काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ आत्मकथाको हिजो (मंगलबार) बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कुनै एक व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन र सामन्तवादी सोच भएको उल्लेख टिप्पणी गरे ।
‘सबै नेपालीका पुर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो’, प्रधानमन्त्रीले भने–अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका पछाडि कोही नपर्दा हुन्छ । प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै देश र जनताको हितमा सबैले इमान्दारीसाथ काम गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया