कुमालन प्रकरण नसेलाउँदै त्रिविका उपकुलपतिलाई राजीनामा गराउनु आपत्तिजनक : सुदन किराती


काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले अहिले सडकमा मान्छे पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नभएर सरकारको विरोधमा आएको दाबी गरेका छन् ।

उनले जनतामा असन्तुष्टि रहेको स्विकार गरेका छन् । तर, अराजकतको रुपमा त्यो असन्तुष्टि यति छिटो यो स्तरमा व्यक्त हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका नै प्रमुख कारण भएको किरातीको आरोप छ । आज (आइतबार) विहान काठमाडौंमा युवाहरुसंगको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ्गलाई काम गर्न नदिईएको र सो प्रकरण नसेलाउँदै फेरि त्रिवीका उपकुलपति प्रा.डा. केशरजंग बराललाई राजीनाम गराउनु निन्दनीय र आपतिजनक रहेको बताए । उनले भने,‘राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे खोज्दा देश अति दलीयकरण हुँदै गयो । मेरिट्रोक्रेसीबाट आएको व्यक्तिलाई गैरकानुनी दबाव दिएर राजीनामा गराउनेसम्मको ओली सरकारको हर्कतले सुशासन लजाएको छ ।’

उनले देशमा देखिएको प्रतिगामी गतिविधीलाई निस्तेज गर्न र जनतामा विश्वास जगाउन कूलमानमाथिको निर्णय र उपकूलपतिको राजीनामा सरकारले तत्काल फिर्ता गराउनुपर्ने माग गरे । ‘नत्र शासन सत्तामा ओली बसेपनि ज्ञानेन्द्र बसेपनि नागरिकलाई के फुरक ? तर त्यसको महंगो मुल्य व्यवस्थाले र देशले चुकाउनुपर्ने हुन्छ ।’–किरातीले भने ।