काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले प्रहरीको पुर्जी काट्ने रीति र थितिबारे रवि लामिछाने जानकार रहेको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि संगठित रुपमा सहकारी ठगी गरेको आरोप लागेको छ ।
हिजो (शुक्रबार) अबेर लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशलगत्तै प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ परेको थियो । लामिछानेको निवासमा पक्राउ गर्न पुगेको प्रहरीको टोलीलाई रास्वपाका नेता तथा कार्यकर्ताहरुले पक्राउ पुर्जी माग गर्दै एकछिन सवालजवाफ गरेका थिए ।
लामिछाने पक्राउ परेलगत्तै रास्वपका उपलब्ध नेताहरुको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले सभापतिलाई पक्राउ गरिएको शैलीबारे प्रश्न उठाईएको थियो ।
यही सन्दर्भमा एमाले महासचिव पोख्रेलले सिंगो रास्वपा नेतृत्व र यसको पँक्तिलाई लामिछाने गृहमन्त्री हुँदाको अवस्थाको स्मरण गराउँदै फेशबुकमा लेखेका छन्–‘प्रहरीको पुर्जी काट्ने रीति र थिति रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि ?”




प्रतिक्रिया