काठमाडौं । ज्योतिषशास्त्रीहरूले संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेको बताएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय दृष्टिमा २०८२ साल कस्तो रहला ?’ कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । अन्तक्र्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले नयाँ वर्षमा शासक र जनताबीच वैमनस्यभाव नाश हुने ग्रहयोग रहेको बताए । पाँचवटा पापग्रह र पाँचै वटा शुभ ग्रह सक्रिय भएका कारण यस वर्षको फल पनि मिश्रित रहने पनि उनको कथन थियो । २०८२ को चैतमा भने रौद्र नामको संवत्सर सुरू भई केही नकारात्मक हुने देखिए पनि वर्ष समग्रमा शुभ फल प्राप्त हुने देखिएको बताए ।
संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले चन्द्रार्क (राजा सूर्य र मन्त्री चन्द्रयुक्त) वर्ष परेको वि.सं. २०८२ को पहिलो दिन नै अग्निवास तथा शिववास दुवै जुरेका कारण शुभ सङ्केत देखा पर्ने बताए । मेष राशिमा सूर्य र तुला राशिमा चन्द्रमा परेर समसप्तक एवं चन्द्रार्क वर्ष हुने यस्तो योग ७२ वर्षमा बन्ने गरेको पनि उनले बताए । यस वर्षको असोज, कार्तिक, फागुन र चैत महिनामा केही नकारात्मक हुने ग्रहयोग देखा परे पनि अरू महिना ज्योतिषशास्त्रीय दृष्टिमा राम्रो रहेको बताए ।
ज्योतिष एवं वास्तुशास्त्री शिवप्रसाद पोखरेलले ग्रहको उदय एवं अस्तले पनि शुभाशुभ फल निर्धारणमा फरक पार्ने गरेकाले यस्ता विषयमा ध्यानाकर्षण गराए । नेपालमा नराम्रा घटनाको सङ्केत भीमेश्वरमा आउने पसिनाले पनि गर्ने भएकाले तत्काल शान्ति आदि विधिको प्रयोग गरिनुपर्ने बताए । महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी श्रेष्ठले २०८१ मा कालयुक्त नामक संवत्सर परेर केही नकारात्मक घटना भए पनि वि.सं. २०८२ लागेसँगै सिद्धार्थी नामक संवत्सर सुरू भइसकेकाले सकारात्मक घटना नै बढी हुने देखिएको बताईन् ।
विश्व ज्योतिष महासंघका उपाध्यक्ष चिन्तामणि पोखरेलले नयाँ वर्षमा मध्य पहाडामा राम्रो वर्षा भई उत्पादन बढ्ने बताए । अन्य भागमा तुलनात्मक रूपमा कम वर्षा भई केही समस्या हुने उनको कथन थियो । धार्मिक अभियानकर्मी धर्मराज बरालले ज्योतिष र पञ्चाङ्ग क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा आयोजक संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपालका अध्यक्ष पूर्णप्रसाद मिश्र तथा सामुदायिक विकास नेपालका अध्यक्ष मनीषा पोखरेल निरौलालगायतले सूर्य र चन्द्रमाको ग्रहण लाग्ने विषय गणित गरेर निकालिएजस्तै प्रामाणिक गणितबाट ज्योतिषी फलादेश हुने गरेकाले यस्तो विद्याको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ग्रह–गणितका आधारमा फलादेश गरिने ज्योतिष वैज्ञानिक विधा भए पनि जोखाना हेर्ने शास्त्रका रूपमा मात्र यसलाई लिएकाले त्यस्ता भ्रम चिर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।




प्रतिक्रिया