अध्यादेशमार्फत् संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्धको रिटमा सुनुवाई जारी


काठमाडौं, ३ वैशाख । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध दायर गरिएको रिट निवेदनमा सुनुवाई भइरहेको छ । संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याएर तत्कालीन सरकारले विभिन्न पदमा गरेको नियुक्तिको विरुद्ध वरिष्ठ अभिवक्ताहरु दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले उक्त अध्यादेश संविधानको मर्मविपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै उक्त नियुक्ति खारेजीको समेत माग गर्दै रिट दायर गरेका थिए ।

उक्त संवैधानिक नियुक्ति सम्बन्धमा विभिन्न १६ वटा रिट दायर भएको थियो । सबै रिटलाई लगाउमा राखेर प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । तत्कालीन सरकारले अध्यादेशमार्फत् संवैधानिक निकायमा विभिन्न ५२ पदमा नियुक्ति गरेको थियो ।