प्रचण्डसँग कांग्रेस-एमाले नेताहरुको ब्रिफिङः ‘यो सरकार ०८२ सम्मै टिक्ने आधार छैन’


काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई सरकार ढाल्ने कुराको कुनै हतारो नरहेको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार चाहिएर भन्दा पनि नेपाली जनताले दुःख पाएको देखेर मात्रै आफूहरुले अहिले खबरदारी गरिरहेको बताएका हुन् ।

उनले वर्तमान सरकार दुई तिहाइको नभएर षड्यन्त्रको सरकार रहेको टिप्पणी गरे । ‘नेपाली जनताले दुःख त पाएका छन् । तर, हामीलाई सरकार चाहिएर खबरदारी गरेका होइनौँ । यो दुई तिहाइको सरकार होइन, षडयन्त्रको सरकार हो । संविधान मिचिएको सरकार हो,’– उनले भने ।

साथै, प्रचण्डले आफूले राजनीतिक विश्लेषणको आधारमा यो सरकार २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेका पनि बताए । आफूसँग कांग्रेस–एमालेकै नेताहरुले यो सरकार लामो समयसम्म टिक्ने स्थिति छैन भनेर सुनाएको पनि प्रचण्डको दाबी छ । ‘यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो । नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो,’– प्रचण्डले भने । File Photo/RN