रामहरिको नजरमा परराष्ट्रमन्त्री राणामात्रै सफल, अरु मन्त्रीहरुको पर्फर्मेन्स शून्य


काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाबाहेक अरु कुनै पनि मन्त्रीले पर्फर्मेन्स देखाउन नसकेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले परराष्ट्रमन्त्री बाहेक अरुले काम गर्न नसकेको बताएका हुन्

‘परराष्ट्रमन्त्रीको मैले अहिलेसम्म विवाद सुनेको छैन । काम गर्ने शैली पनि उहाँले धेरै प्रमोट गरिरहनु भएको छ । यहाँ भन्यो भने चाकडी गर्यो भन्दिन्छन् । सत्य कुरा पनि बोल्न हुँदैन कहिलेकाहीँ । सत्य कुरा चाहीँ के को भने फर्फर्मेन्स देखाउनुभएको छ उहाँले । पर्फर्मेन्स देखाउनेलाई धन्यवाद पनि दिन चाहन्छु । अरु सबै मन्त्रीहरु जुन स्प्रिटमा काम गर्नुपर्ने हो, त्यो भएको छैन । जहाँ जानुस्, विवादै विवाद,’– उनले भने ।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पर्फर्मेन्स शून्य अवस्थामा रहेको बताए । प्रधानमन्त्री ओलीले सरकारको गियर परिवर्तन गर्नु त परको कुरा गाडी स्टार्ट नै गर्न नसकेको उनको टिप्पणी छ । सरकारले काम गर्न नसकेकै कारण अहिले सबै जनता सडकमा आउने परिस्थिति बनिरहेको उनले बताए ।

‘सरकारको पर्फर्मेन्स चाहीँ भएन । गाडी स्टार्ट नै नभएको जस्तो भयो । गियर लगाएर चलाउने कुरा छोड्नुस्, कमसेकम स्टार्ट त गर्नुपर्यो । जनतामा यत्रो निराशा छ । कसैको केही पर्फर्मेन्स छैन । जनता सबै सडकमा आउने अवस्था छ । कमसेकम सरकार छ भन्ने अनुभूति दिन सक्नुपर्थ्यो । त्यो नदिएकोमा जनतामा आक्रोश छ,’– उनले भने । File Photo/RN