काठमाडौँ, १२ वैशाख । नेपालको व्यवसायिक क्षेत्रमा पहिचान बनाएका दुई चर्चित युवा उद्यमीबीच व्यापरिक समझदारी भएको छ। हालै काठमाडौंस्थित लोमस हाउसमा सम्पन्न विशेष भेटघाटका क्रममा उनीहरूबीच आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा सहमति जुटेको हो।
आजको भेटमा विश्वप्रसिद्ध ‘फोर्ब्स अन्डर ३०’ मा नाम समावेश गराउन सफल उद्यमी श्रेया गिरि र नवप्रवर्तनशील कार्यहरू मार्फत चिनिएका लोमस ग्रुप्स तथा लोमस फार्मास्युटिकल्सका निर्देशक प्रणवजङ्ग पाण्डे सहभागी थिए।
उनीहरूबीच मानसिक स्वास्थ्यसम्बन्धी नयाँ उपचार विधि, औषधिको नयाँ अणुहरू, अनुसन्धान तथा प्रतिवेदनहरू, साथै औषधि सेवनपछि देखिने लक्षणहरूबारे उपभोक्तालाई सहज र प्रभावकारी रूपमा बुझाउन सकिने उपायबारे गहिरो छलफल भएको जनाइएको छ।
यस अवसरमा श्रेया गिरि नेतृत्वमा रहेको ‘ह्याप्पी माइन्ट्स’ संस्थासँग छिट्टै सम्झौता पत्रमा हस्ताक्षर हुने पनि स्पष्ट गरिएको छ। यस संस्थाले अमेरिकी दूतावास, युनिलिभर, फाइजर, डाबर, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र हालै बीवाईडी कम्पनीका कर्मचारीलाई तालिम प्रदान गर्दै आएको छ। यस संस्थाले दुई तीनवटा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेको छ।
सम्झौताअनुसार लोमस फार्मास्युटिकल्सका कर्मचारीहरूलाई आगामी दिनमा बिक्री मनोविज्ञानसम्बन्धी विशेष तालिम दिइनेछ। यसबाट उपभोक्तासँग सुस्पष्ट र विश्वासपूर्ण संवाद कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै निर्देशक पाण्डेले भने, “स्वास्थ्यसँग सम्बन्धित उत्पादनमात्र होइन, सेवामा निहित संवेदना र बुझाइ पनि उत्तिकै महत्वपूर्ण हुन्छ। हामी वैज्ञानिक सोचसँगै मानवीय दृष्टिकोणलाई पनि प्राथमिकतामा राखेर अघि बढ्न चाहन्छौं।”
यो सहकार्यले मानसिक स्वास्थ्य, औषधि अनुसन्धान, उपचार पद्धति र कर्मचारी क्षमताविकासमा नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया